प्रदेशमा एमाले-माओवादीको सरकार बनाउन राप्रपाले सहयोग नगर्ने

हिमाल प्रेस २१ चैत २०८० १८:३७
44
SHARES
प्रदेशमा एमाले-माओवादीको सरकार बनाउन राप्रपाले सहयोग नगर्ने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार निर्माणका लागि नेकपा एमाले-माओवादीसहितको गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको छ। बुधबार बसेको राप्रपाको पदाधिकारी बैठकले एमाले-माओवादीको नेतृत्वको सरकार बन्ने ठाउँमा सहयोग नगर्ने तर कांग्रेस नेतृत्वको सरकार बन्ने ठाउँमा भने सहयोग गर्न सकिने बताएको छ। राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी नहुने बताएको छ।

यसअघि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेमा परिस्थिति हेरेर मत दिने, सरकारमा नजाने निर्णय लिएको थियो। बुधबार बसेको बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिए पनि एमाले नेतृत्वको गठबन्धनलाई नसघाउने निर्णय गरेको हो।

गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ। यस्तोमा एमालेको भागमा परेको गण्डकी प्रदेशमा बहुमत जुटाउन गठबन्धनलाई समस्या हुने देखिएको छ। गण्डकीमा एमालेले आफ्नो भागमा परेको प्रदेश सरकार गुमाउने अवस्था आएको छ। उता लुम्बिनीमा पनि कांग्रेस नेतृत्वको र एमाले-माओवादीसहितको गठबन्धनले राप्रपालाई तान्न खोजेका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रदेशमा एमालेलाई नसघाउने औपचारिक निर्णय भएको बताउँदै कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिने निर्णयको अधिकार प्रदेश कमिटी अध्यक्षलाई दिइएको बताएका छन्। कांग्रेसका सुरेन्द्रराज पाण्डेले बुधबार नै गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिइसकेका छन्।

गण्डकी प्रदेश प्रमुखले पनि नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएर चैत २७ गतेसम्मको समय दिएका छन्। यहाँ ठूलो दल नेपाली कांग्रेससँग २७ सांसद छन्। एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित ८, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग २ र स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै हाल स्वतन्त्र रहेको दाबी गर्दै आइरहेका दीपक मनाङेसहित ६० जना सांसद छन्।

सरकार बनाउन यहाँ राप्रपा निर्णायक देखिएको छ। राप्रपा जता लाग्छ, सरकार उसकैको बन्ने भएपछि उसलाई आफूतिर तान्न वर्तमान मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दल एमाले दुवैले सम्पूर्ण शक्ति लगाएका छन्।

प्रकाशित: २१ चैत २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =