प्रतिपक्षमा बस्ने राप्रपाको निर्णय, चैत २७ गते जनप्रदर्शन

हिमाल प्रेस २८ फागुन २०८० २०:१९
14
SHARES
प्रतिपक्षमा बस्ने राप्रपाको निर्णय, चैत २७ गते जनप्रदर्शन राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : मोहनकुमार श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ। यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विपक्षमा मत दिने निर्णय पार्टीको सोमबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ।’ प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी राप्रपाले नेपाल सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत् निर्णय परिवर्तन गरेको छ। ‘एसईईको समय र लाखौँ विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौँ केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ’, राप्रपाले भनेको छ।

पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरु रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन बुझाउने निर्णय बैठकले गरेको छ।

मिटरब्याज, सहकारी, लघुवित्त बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरुको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराएको छ।

साथै रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कूटनीतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरुको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपाले नेपाल सरकारसँग माग गरेको छ।

दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न पनि बैठकले माग गरेको छ। बैठकले सुन तस्करीमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नता सम्बन्धी भिडियो सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ।

यसैगरी बैठकले राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा गरेर गल्ती गरिएको ठहर गरेको छ। ‘कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

बैठकले फागुन २७ गते कार्यसम्पादन समितिको बैठकका क्रममा खानाका लागि बैठक स्थगन गरेको समयमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित रूपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति खेद व्यक्त गरेको छ। सामाजिक सञ्जालमा आएका भिडियो, घटनास्थलमा देखिएका नेता र पीडितसमेतबाट जानकारी लिएर थप अनुसन्धान गरी ४८ घण्टाभित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेस गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइने भएको छ।

राप्रपाले इलाममा हुने प्रतिनिधिसभाको र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरेको छ। उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जनाएका छन्।

४० वर्षमुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र ४० वर्ष मुनिकालाई खुला रुपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको पार्टीले जनाएको छ। खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य तोरणबहादुर गुरुङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको पार्टीले जनाएको छ।

बैठकले राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनियर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

नवीन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका सदस्यहरु आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ। कार्यसम्पादन समितिको बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा फागुन २६, २७ र २८ गते तीन दिन केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो।

प्रकाशित: २८ फागुन २०८० २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =