काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेर लगातार तेस्रो जित निकालेको छ।
घरेलु मैदान वागंखडे क्रिकेट स्टेडियममा यस सिजनको तेस्रो हार मुम्बईले ६ विकेटको व्यहार्यो। मुम्बईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानको जितमा रियान परागले ५४ रनको अर्धशतकीय इनिङ खेले।रविचन्द्रन आश्विनले १६ रन बनाए। जोस बटलरले १३ तथा कप्तान सन्जु सामसनले १२ रन बनाए।
मुम्बईका लागि आकाश मठवालले ३ तथा कउइना मफाकाले १ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।
मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले ३४ रन बनाए। तिलक बर्मा ३२ रनमा आउट भए।
टिम डेबिडले १७ रन तथा ओपनर इशान किशनले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए। लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारमा कायमै छ।
मुम्बईले यसैपल्ट रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई कप्तान बनाएको थियो। गत सिजन राम्रो प्रदर्शन गरेको मुम्बईको यसपल्ट प्रदर्शन खच्किएको हो। यसकै कारण पाण्ड्याको कप्तानीमाथि पनि प्रश्न उठिराखेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

