दैलेख गाडी दुर्घटना : नदीको तीव्र बहावका कारण खोजीकार्य चुनौती

हिमाल प्रेस २० असार २०८३ १९:०७ | Saturday, July 4, 2026
4
SHARES
दैलेख गाडी दुर्घटना : नदीको तीव्र बहावका कारण खोजीकार्य चुनौती

सुर्खेत – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा भएको गाडी दुर्घटनापछि नदीको तीव्र बहाव, बढ्दो पानीको सतह र धमिलो पानीका कारण खोजीकार्यमा चुनौती भएको छ।

घटनाको तीन दिन बितिसक्दा पनि बेपत्ता व्यक्ति र गाडी फेला नपरेपछि सुरक्षा निकायले अत्याधुनिक उपकरणसहित खोजीकार्यलाई निरन्तरता दिएको हो।

वर्षायामका कारण कर्णाली नदीमा पानीको बहाव अत्यधिक रहेकोले खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले पानी धमिलो भएकाले गोताखोरलाई नदीभित्र खोजी गर्न कठिनाइ भएको तथा सडकबाट नदीसम्म पुग्ने भिरालो भूगोलले पनि उद्धारमा चुनौती थपिएको बताए।

उनका अनुसार चुनौतीका बाबजुद सम्भावित स्थानमा गोताखोर परिचालन, नदी किनारमा प्रहरी र स्थानीयको सहकार्य तथा थप प्रविधिको प्रयोग गरेर बेपत्ताहरुको खोजीलाई निरन्तरता दिइएको छ।

अत्याधुनिक प्रविधिसहित संयुक्त खोजी अभियान

डीआईजी सापकोटाका अनुसार दुर्घटनास्थलमा सशस्त्र प्रहरीका गोताखोर टोली, ड्रोन क्यामेरा, विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ल्याइएको सोलार क्यामेरा र म्याग्नेटजस्ता अत्याधुनिक उपकरण प्रयोग गरेर खोजी भइरहेको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई निगरानी र खोज अभियानसमेत सञ्चालन गरिएको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनाको दिन नै प्रदेश प्रहरी कार्यालयबाट डीआईजी सापकोटाको नेतृत्वमा ९ जना, जिल्ला प्रहरी कार्यालय दैलेखबाट १५ जना, इलाका प्रहरी कार्यालय दुल्लुबाट ७ जना, इलाका प्रहरी कार्यालय राकम कर्णालीबाट ६ जना तथा तल्लो डुङ्गेश्वर र पाल्तडा प्रहरी चौकीबाट ८ जना गरी नेपाल प्रहरीका ४५ जना परिचालन गरिएको थियो।

त्यसैगरी सशस्त्र प्रहरी बलबाट ६ जना गोताखोरसहित ३५ जना तथा नेपाली सेनाबाट ११ जना परिचालन गरी संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरिएको छ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय दुल्लु र पाल्तडा प्रहरी चौकीका १० जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल दैलेख र महेश्वरी बाहिनी सुर्खेतबाट ६ जना गोताखोरसहित १५ जना सशस्त्र प्रहरी गरी कुल २५ जना सुरक्षाकर्मी निरन्तर खोज तथा उद्धारमा खटिएका छन्।

साथै सुर्खेतका बिजौरा, लगाम, तातोपानी र घाटगाउँस्थित प्रहरी युनिटहरू कर्णाली नदी किनारमा परिचालित छन् भने अछाम, कैलाली र बर्दिया जिल्लासँग समेत समन्वय गरेर खोजीलाई विस्तार गरिएको छ।

दुर्घटनामा एकको मृत्यु, चार जना अझै बेपत्ता

डीआईजी सापकोटाका अनुसार असार १८ गते बिहान करिब साढे ११ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

सुर्खेत बसपार्कबाट चालक र सहचालकसहित पाँच जना सवार भएको जानकारी रहेको भए पनि बीच बाटोमा अन्य यात्रु चढे वा नचढेको यकिन हुन नसकेको उनले बताए।

दुर्घटनापछि अचेत अवस्थामा उद्धार गरिएका कालिकोट पचालझरना गाउँपालिका–९ का जेखे जितरुवालाई दुल्लु अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा यात्रु मेखे तिरुवा र सिर्जना खड्का अझै बेपत्ता छन्।

डीआईजी सापकोटाले कर्णाली राजमार्गमा प्रभावकारी चेकिङ प्रणालीको अभाव पनि दुर्घटनापछिको खोज तथा उद्धारमा चुनौती बनेको बताए।

‘कर्णाली राजमार्गको एस मोड क्षेत्रका विभिन्न स्थानमा चेकपोइन्ट नहुँदा दुर्घटनापछि उद्धार तथा अनुसन्धानमा समस्या भएको छ,’ उनले भने, ‘चेकपोइन्ट भएको भए दुर्घटनामा परेको गाडीमा कति यात्रु सवार थिए, उनीहरूको विवरण के थियो भन्ने जानकारी तत्काल प्राप्त गर्न सहज हुने थियो।’

प्रहरीले ठाउँ–ठाउँमा चेकिङ गर्दा ज्यादती ग¥यो भन्ने गुनासो आउने गरेको र त्यसो भएको छ भने आफूहरु सुधार गर्न तयार रहेको सापकोटाले बताए। उनले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक सवारीसाधनको नियमित प्राविधिक परीक्षण पनि अनिवार्य गर्नुपर्ने बताए।

उनका अनुसार कम्तीमा प्रत्येक ६/६ महिनामा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गर्ने व्यवस्था लागू गरिनुपर्छ। साथै, सडकको स्तरोन्नति, नियमित मर्मत र सुरक्षित पूर्वाधार निर्माणका लागि सरकार, सडक विभाग, यातायात व्यवसायी र सुरक्षा निकायसहित सबै सरोकारवाला निकायको समन्वय र सक्रियता आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: २० असार २०८३ १९:०७ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast