राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

हिमाल प्रेस १५ चैत २०८० १४:३७
64
SHARES
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ- राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन्। उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्। अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।

राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो। माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो।

उनी एमालेको उपेक्षामा परेर माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मा‌ओवादीमा प्रवेश गरेपछि संवैधानिक पदमा पुगेको एक वर्षमै उनले पदबाट बाहिरिनु परेको छ। राष्ट्रियसभाका अध्यक्ष बनेका दाहालको कार्यकाल अब जम्मा ४ वर्षमात्रै छ। अर्यालले कम कार्यकाल भएकोलाई किन दिइएको भन्दै प्रश्न पनि गरेकी थिइन्।

फागुन २१ गतेको नयाँ सत्तागठबन्धन दलको बैठकले  राष्ट्रियसभा अध्यक्ष माओवादीलाई र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो। यो सहमति हुँदा  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीमात्रै थिए। यी दलका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए। त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए। उक्त सहमतिमा राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ मा नेकपा एकीकृत समाजवादी सत्ता गठबन्धनमा मिसिएपछि भने उपाध्यक्ष एमालेलाई दिने भनिएको यसअघिको बुँदा हटाएर माधवकुमार नेपालको हस्ताक्षर थपेर सहमतिपत्र सार्वजनिक गरिएको थियो।

प्रकाशित: १५ चैत २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =