पार्टी र सरकारबीच समन्वय गर्न एकीकृत समाजवादीले बनायो समिति

हिमाल प्रेस १२ चैत २०८० ८:५८
2
SHARE
पार्टी र सरकारबीच समन्वय गर्न एकीकृत समाजवादीले बनायो समिति फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ।

महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ।

मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको योगदानका आधारमा नाम सिफारिसका लागि निर्देशन दिएको बैठकले महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिए।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको बैठकमा पार्टीको जनवर्गीय संगठन सुदृढीकरणबारे छलफल गरेको बैठकले महाधिवेशनका लागि विभिन्न कमिटीबाट गरेका तयारीबारे समीक्षा गरेको छ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ।

साथै अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन गरिएको जनाइएको छ। महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ।

प्रकाशित: १२ चैत २०८० ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =