मोदीलाई ‘बडेभाइ’को संज्ञा र भुटान कूटनीति

हिमाल प्रेस ९ चैत २०८० २२:२४
36
SHARES
मोदीलाई ‘बडेभाइ’को संज्ञा र भुटान कूटनीति तस्बिरः पीटीआई

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक भुटान पुगेका छन्। मौसमको कारण निर्धारित समय भन्दा एक दिन ढिला गरी उनी भुटानको अन्तर्राष्ट्रिय विमानस्थल पारोमा उत्रिएका हुन्।

जनवारीमा सम्पन्न आम निर्वाचनमा आफ्नो दलले बहुमत ल्याएपछि दोस्रो पटक प्रधानमन्त्री बनेका छिरिङ तोग्बेको भारत भ्रमण सकिएको चौथो दिन मोदी पुनः थिम्पु पुगेका हुन्। भुटानमा चीनले दूतावास खोल्ने र ल्याण्ड स्वापको प्रस्तावहरू गरिरहेका बेला चीन र भारतबीच रहेको सानो मुलुक भुटानलाई भारतको साथ सदावहार रहने कूटनीतिक सन्देश मोदीले दिएका हुन्।

अप्रिलमा भारतमा हुने आम निर्वाचनको चटारोमा रहेका र प्रतिपक्ष दलको खातासमेत रोक्का भएको अवस्थाप्रति ध्यान नदिईकन थिम्पु पुगेका हुन्। भुटानी राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुकले सन् २०२३ को अन्त्यमा अघि बढाएको योजना ‘विश्वकै पहिलो सजकता–ताजकी सहर’को रुपमा कल्पना गर्दै त्यसलाई दक्षिण तथा दक्षिणपूर्वी एसियाको आर्थिक हबको रूपमा विकास गर्ने भुटानी योजनालाई मोदीले साथ दिने सम्भावना पनि उत्तिकै छ। राजा नाम्ग्यालको यो सोचलाई भारतले सहयोगी भावका साथ हेरेको पनि तोग्बेको भारत भ्रमणमा नै चर्चा थियो।

दक्षिण भुटानको फुन्चोलिङ सहरसँग जोडिएको गलेफुलाई विकास गर्न भुटानले भारतको आसाम, पश्चिम बंगाल, म्यानमार, थाइल्याण्ड, कम्बोडिया र सिंगापुरसँग आर्थिक करिडोर तय गर्ने भनिरहेको छ। त्यसमा भुटानले भारतको साथ माग्दै आएको छ। यो सपना भुटानले पूरा गरे भुटान साँच्चै विश्वकै पहिलो सजकता ताजकी सहर बन्ने नै छ। उक्त सहरमा विश्वका फिलनथ्रोपिस, खर्बपति, खेलाडी, फिल्मकर्मीहरु आउने र लस एन्जलसमा जसरी डाँडाडाँडामा आफ्नो घर बनाएर बस्नेछन्। गलेफुलाई त्यो प्रकारको सहर बनाउने सोचमा पुगेको थिम्पुले विदेशमा रहेको आफ्ना नागरिकलाई पनि फर्काउने योजना पनि हुन सक्छ। करिब १० हजार भुटानी बस्ने गलेफुमा सन् २०१२ जिग्मे थिन्ले प्रधानमन्त्री हुँदा एअरपोर्ट समेत बनेको छ।

यो दक्षिण भुटानको फुन्चोलिङसँग जोडिएको यो क्षेत्रबाट कैयौँ नेपाली भाषी भुटानीहरु लखेटिएका छन्। आफ्नो थातथलो छोडेर उनीहरु नेपालमा शरण लिन आइपुगेका थिए। अहिले उनीहरू एक लाख बढी अमेरिका र करिब १० हजार अन्य युरोपेली मुलकुमा पुनर्स्थापित भएका छन्। गलेफुबाट कैयन् भुटानीहरु आफ्नो थातथलो छोडेर पूर्वीनेपालमा शरणार्थी शिविरमा २२ वर्ष बसेका थिए। त्यही खाली स्थानलाई भुटानले अहिले आर्थिक हबको रुपमा विकास गर्न लागेको हो। ११६ औँ राष्ट्रिय दिवसको दिनमा भुटानी राजाले यस्तो परियोजनाको घोषणा गरेका हुन्।

भुटानको आर्थिक विकासमा क्रान्ति गर्ने राजा नाम्ग्यालको सपना छ। त्यो सहरमा भारत र भुटानको रेल जोड्ने जसले थप सहजता ल्याउने भुटान सरकारको बुझाइ छ। भुटानभारत रेल्वे परियोजनामा भारतले साथ दिने भनिसकेको छ। यद्यपि जयगाउँसम्म रेलमा पुगेर त्यहाँबाट सडक यात्रामा दक्षिण भुटान हुँदै थिप्मु जान सकिन्छ। सायद त्यही पोइन्ट पनि एक रेल यात्राको हुन सक्ने थिम्पुका सञ्चारकर्मीहरूको दाबी छ।

आइतबार चारदिने भ्रमण सकेर थिम्पु फर्केका तोग्बेले मोदीलाई के सुनाए तीन दिन पछि बिहीबार नै थिम्पु पुग्ने सोच राखेका मोदी मौसम खराबीका कारण शुक्रबार थिम्पु पुगेका हुन्। उनलाई स्वागत गर्न सयौँ विद्यार्थीहरु पारोमा लामबद्ध थिए। तर मौसमका कारण मोदी आउन नसक्ने भएपछि निराश भएर विद्यार्थीहरु घर फिरेका थिए। शुक्रबार विद्यार्थीहरूले स्वागत गरे। मोदी पारोमा ओर्लेपछि गाडीमा आफूलाई स्वागतका लागि ठाउँठाउँमा राखिएको गेट र माथिको तस्बिर एवं सम्मानमा लेखिएका वाक्यहरु पढ्दै थिप्मु पुगे।

सडक सडकमा विभिन्न गेट बनाउँदै त्यसको माथि बोर्ड राखेर भुटानी, हिन्दी र अंग्रेजी भाषामा मोदीलाई स्वागत गरेका थिए। भुटानमा मेरो ठूलदाई नरेन्द्र मोदी जीलाई स्वागत छ भन्ने शैलीको भाषा प्रयोग गरिएको थियो। यद्यपि तोग्बेले मोदीलाई साथीको रुपमा सम्बोधन गर्ने गरेका थिए।

अचानक बडेभाई अर्थात ठूल्दाइ भनिनु सामान्य कूटनीति भने होइन। उनले नेपालमा सम्पन्न सार्कको समयमा पनि साथीकै रुपमा सम्बोधन गरेका थिए मोदीलाई भने केही दिन अघिको दिल्ली भ्रमणमा पनि साथी नै भनेका थिए। मोदी उनका भारतीय समकक्षी हुन् तर उनले दाइको संज्ञा दिएर कस्तो कूटनीति अवलम्बन गरेका हुन् त्यो भविष्यले स्पष्ट पार्ला।

मोदी पहिलोपटक प्रधानमन्त्री भएर भुटान जाँदा पनि तोग्बेनै प्रधानमन्त्री थिए। बीचमा तोग्बेको पार्टीले हारे पनि पुनः गत जनवरीमा चुनाव जितेर दोस्रो पटक प्रधानमन्त्री भएका हुन्। मोदीले आफ्नो विदेश यात्रा नै भुटानबाट सुरु गरेर नेबरहुड फर्स्ट अर्थात् छिमेक पहिलो नीतिको सार्वजनिक ११ वर्ष अघि नै गरेका थिए।

मोदीको यो तेस्रो भुटान भ्रमण भए पनि दुई भ्रमण तोग्बे नै समकक्षी भए। पहिलो भ्रमण र अहिलेको भ्रमण राजकीय हो भने सन् २०१९ मा भएको भ्रमण औपचारिकतामा सीमित थियो। मोदीले भुटान सरकारले दिने एक भव्य उपाधि लिएका छन्। भुटान सरकारले दिने त्यहाँको सबै भन्दा उपल्लो अवार्ड ‘अर्डर अफ द ड्रुक ग्याल्पो’ मोदीलाई दिने निर्णय तीन वर्ष अगाडि नै भएको थियो। कोभिडको सयममा मोदीले देखाएको सदासयताका कारण उनलाई उक्त अवार्ड दिने निर्णय भुटान सरकारले गरेको हो।

थिम्पुमा बनेको पेवा वाङ्चुक मातृ तथा शिशु अस्पताल पनि मोदीले उद्घाटन गर्नेछन्। उनको भ्रमणको समयमा रेल्वे सञ्चालन, पेट्रोलियम पदार्थको ढुवानी, कृषि तथा पशुपंक्षी क्षेत्रको विकासलगायतको सहकार्यमा हस्ताक्षर हुने उल्लेख छ। भुटानी युवाहरुको विदेश पलायन भइरहेको र कोभिडपछि अर्थतन्त्र असहज भएको भुटानले भारतीय सहयोगको अपेक्षा समेत गरेको छ। (कुन्सेल र भारतीय पत्रिकाको सहयोगमा)

प्रकाशित: ९ चैत २०८० २२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =