शिक्षकलाई निजामती कर्मचारी सरह भत्ता दिने व्यवस्था गर्न महासंघकाे सुझाव

हिमाल प्रेस ८ चैत २०८० १५:०४
744
SHARES
शिक्षकलाई निजामती कर्मचारी सरह भत्ता दिने व्यवस्था गर्न महासंघकाे सुझाव

काठमाडौँ- नेपाल शिक्षक महासंघले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई त्यहाँ कार्यरत निजामती कर्मचारी सरह दुर्गम भत्ता दिने व्यवस्था गर्न सुझाव दिएको छ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेका बेला महासंघले शिक्षकको तलबभत्तासम्बन्धी सरकारलाई सुझाव पेस गरेको छ।

महासंघले प्रधानाध्यापकका लागि आफ्नो आधारभूत तलबको १५% भत्ता पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ भने शिक्षक अस्पताल निर्माणका लागि पनि पर्याप्त बजेट छुट्याउन सुझाव दिएको छ।

महासंघले अब हुने आन्तरिक परीक्षामा भाग नलिने र भाग लिएर पनि उत्तीर्ण हुन नसक्ने कार्यरत शिक्षकका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था हुनुपर्ने बताएको छ।

त्यसैगरी महासंघले शिक्षक-कर्मचारीको तलबभत्ता मासिकरूपमा भुक्तानी हुने व्यवस्था गर्नुपर्ने बताउँदै कतिपय स्थानीय तहमा निर्वाचित पदाधिकारीहरूबीच द्वन्द्व भई पालिका परिषद् हुन नसक्दा शिक्षक–कर्मचारीको तलबभत्ता भुक्तानी महिनौंसम्म हुन नसक्दा उनीहरू मर्कामा परेको जनाएकाे छ।

यस्तो अवस्था फेरि आउन नदिन तलबभत्ता भुक्तानीकालागि पालिका परिषद्को निर्णय हुनुनपर्ने कानुनी प्रबन्ध गर्न महासंघले सुझाव दिएकाे छ।

त्यस्तै महासंघले शिक्षकलाई अध्ययन, अनुसन्धान र लेखन कार्य गर्न आर्थिक सहयोगको प्रबन्ध बजेटमा गरिनुपर्ने पनि बताएकाे छ।

प्रकाशित: ८ चैत २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =