बजेटको सिद्धान्त र प्राथिमकता फेरि लेख्नुपर्नेछ : विष्णु पौडेल

हिमाल प्रेस १ चैत २०८० १५:५५
24
SHARES
बजेटको सिद्धान्त र प्राथिमकता फेरि लेख्नुपर्नेछ : विष्णु पौडेल

काठमाडौँ- प्रमुख सत्तारुढ घटक नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कुहिरोको काग जस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा आजदेखि सुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले गत फागुन १४ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नु समयको बर्बादी मात्रै हुने भएकाले नयाँ ढङ्गले पुनर्लेखन आवश्यक रहेको बताए।

यो सिद्धान्त र प्राथमिकताले अहिले देशको समस्यालाई चिन्न नसक्ने र समाधान गर्न पनि नसक्ने भएकाले नयाँ अर्थमन्त्री वर्षमान पुनलाई समाजवादउन्मुख बजेट आउने गरी सिद्धान्त र प्राथमिकता ल्याउन माग गरे। सत्ता गठबन्धन फेरबदलका कारण गत फागुन १४ गते पेस भएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुन सकेको थिएन।

नयाँ सत्ता गठबन्धन बनेको एकसातामै छलफल अघि बढेको छ। आजदेखि चैत ७ गतेसम्म शनिबारबाहेक लगातार बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गर्ने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ। चैत ७ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची छ।

अर्थमन्त्रीको जवाफसँगै छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकायमा पठाउन संसदले निर्देशन दिनेछ।

प्रकाशित: १ चैत २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =