चीनको ‘जिडिआई’ बाट नेपालले पनि लाभ लिनसक्छ : विष्णु पौडेल

हिमाल प्रेस १६ चैत २०८० १२:२७
8
SHARES
चीनको ‘जिडिआई’ बाट नेपालले पनि लाभ लिनसक्छ : विष्णु पौडेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास जिडिआईका लागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा लाभ लिन सक्ने बताएका छन्।

चीनको हाइनान प्रान्तमा जारी बोआओ फोरम फर एसिया बिएफएलाई बिहीबार नेपालका तर्फबाट सम्बोधन गर्दै उनले चीनले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विकासजस्ता प्राथमिकताका साथ (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, जिडिआइ) अवधारणा ल्याएको र यसबाट नेपालले पनि लाभ लिनसक्ने बताएका उनको सचिवालयले जनाएको छ।

उपाध्यक्ष पौडेलले नेपालको आफ्नै विकास प्राथमिकतासँग मिल्दोजुल्दो यस अवधारणाको उद्देश्यलाई समर्थन गर्ने देशहरूको बढ्दो सङ्ख्यामा नेपाल पनि सामेल रहेको र यसप्रतिको प्रतिबद्धता कायम गर्दै नेपाल सरकारले हालै जिडिआइ समूहमा सामेल हुने निर्णय गरेको जानकारी पनि दिए।

जिडिआइको मूल सिद्धान्त चिनियाँ राष्ट्रपति सि चिनफिङको मानवजातिको साझा भविष्यको दृष्टिकोणसँग मिल्दोजुल्दो रहेको र यसले विश्व शान्ति र अन्तर–सम्बन्धलाई जोड दिएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘एक साँच्चै साझा भविष्य तब मात्र साकार हुनसक्छ जब सबै विकसित र विकासशील राष्ट्रहरूले प्रगति र समृद्धिका लागि समान अवसर प्राप्त गर्दछन्।’

जिडिआइको दिगो र समतामूलक विकासका लक्ष हासिल भएको सुनिश्चित गर्न, यसका चुनौतीहरू स्वीकार गर्न र सम्बोधन गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यसको पारदर्शिता र ऋण दिगोपनका चिन्तलाई भने दूर गर्न जरुरी रहेको बताए।

त्यसैगरी, सहुलियतपूर्ण वित्तीय सहायता, ज्ञान आदानप्रदान र विकासोन्मुख देशहरूको विशेष आवश्यकता अनुरूप निर्माण हुने परियोजनाहरूले जिडिआइको उद्देश्य, आपसी विश्वास र समावेशीतालाई थप बलियो बनाउने उनको धारणा थियो।

बोआओ फोरमले एसिया र समग्र विश्वको विकासका लागि आवश्यक मुद्दाहरूमा संवादका लागि महत्वपूर्ण अवसर दिएको उनको भनाइ छ। यस वर्षको विषयवस्तु ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभः प्रमोटिङ वल्र्ड पिस’ समयसापेक्ष रहेको र यसले विश्वको विकास र शान्तिको आगामी मार्गका लागि सहयोग पुग्ने पनि उनले बताए। रासस

प्रकाशित: १६ चैत २०८० १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =