भारतीय कामदारले कति पैसा लैजान्छन्?

हिमाल प्रेस ३० फागुन २०८० १७:४१
110
SHARES
भारतीय कामदारले कति पैसा लैजान्छन्?

काठमाडौँ– नेपालबाट सबैभन्दा बढी रमिट्यान्स भारतीय कामदारले लैजाने गरेका छन्। अनौपचारिक रूपमा काम गर्दै आएका कारण भारतीय कामदारले नगद लैजाँदा रेमिट्यान्समा गणना हुँदैन। त्यसैगरी नगदै लैजाने भएकाले रेमिट्यान्सका रूपमा कति रकम भारत जान्छ भन्ने हिसाब पनि कुनै निकायसँग छैन।

भारतीय कामदारले पछिल्लो सात महिनामा करिब तीन अर्ब रुपैयाँ नगद लगेको अनुमान राष्ट्र बैंकको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनमा नेपालमा सातदेखि नौ लाख भारतीय श्रमिक कार्यरत छन्।  भारतीय कामदारले नेपालबाट बैंकिङ प्रणालीमार्फत आफ्नो देशमा पैसा पठाउँदैनन्।

राष्ट्र बैंकका प्रवक्ता डा‍. गुणाकर भट्ट भारती कामदारले नगदै लैजाने गरेको बताउँछन्। नगद जाने भएका कारण त्यो पैसा रेमिट्यान्समा नदेखिने उनले बताए। ‘नेपालमा सामान्यदेखि उच्च तहको रोजगारीमा भारतीय श्रमिक कार्यरत छन्। उनीहरूले नगद लैजाने गरेका छन्’, प्रवक्ता भट्टले भने, ‘भारतमा कार्यरत नेपाली कामदारले पनि नगद नै ल्याउँछन्।’ राष्ट्र बैंकको समीक्षामा  भारतबाट थोरैमात्र रेमिट्यान्स नेपाल भित्रिने गरेको छ।

नेपालबाट चालु आर्थिक वर्षको ७ महिनामा साढे ४ अर्ब रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको बैंक तथा वित्तीय समीक्षा प्रतिवेदनमा २०८०/८१ को माघ मसान्तसम्म ४ अर्ब ४८ करोड २८ लाख रुपैयाँ विदेशी कामदारले लगेको उल्लेख छ। गत आवको सोही अवधिको तुलनामा भने नेपालबाट बाहिरिने रेमिट्यान्स ११.६७ प्रतिशत बढेको बैंकले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्म ४ अर्ब ३ करोड ६२ रुपैयाँ रेमिट्यान्स बिदेसिएको थियो।

नेपाल सरकारसँग श्रम स्वीकृति लिएर आएका कामदारले मात्र रेमिट्यान्स आफ्नो देश पठाउँछन्। चालु आर्थिक वर्षका सात महिनामा हजारभन्दा बढी विदेशी श्रमिक रोजगारीका लागि नेपाल आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक छ।

नेपालमा विदेशी लगानीका कम्पनी, आयोजना, विभिन्न बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजना, कलकारखाना, निर्माण क्षेत्र, प्रविधिलगायतका क्षेत्रमा विदेशी कामदार कार्यरत छन्। उनीहरूले मात्र आफ्नो कमाइ रेमिट्यान्समार्फत पठाउँछन्। अनौपचारिक क्षेत्रमा कार्यरत कामदारले हुन्डीमार्फत पनि पैसा पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ।

नेपालमा रोजगारीका लागि आएका विदेशी कामदारले आफ्नो कमाइको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्ने व्यवस्था छ। २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्छ। यो नियम भारतीय कामदारका हकमा भने लागू हुँदैन।

नेपालमा निर्माणधीन विदेशी आयोजनामा विदेशी कामदार रोजगारीका लागि आउने गरेका छन्। नेपालमा चीन, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, बंगलादेश, श्रीलंका, बेलायत, अमेरिकालगायत ८९ देशबाट रोजगारीका लागि कामदार आउने गरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकमा छ। भारत र बंगलादेशका अधिकांश कामदार  अनौपचारिक तहबाट आउने गरेका छन्।

मासिक ६४ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिन्छ

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालबाट मासिक औसत ६४ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिने गरेको छ। पुस मसान्तसम्म ४ अर्ब ८ करोड ९८ लाख रेमिट्यान्स नेपालबाट बाहिर गएको थियो। गत आर्थिक वर्ष नेपालबाट ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स विभिन्न देश बाहिरिएको थियो। चालु आवको सात महिनामा कुल ८ खर्ब ३८ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आवको माघ मसान्तसम्ममा पनि ६ खर्ब ८५ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा बाहिरिने र भित्रने रेमिट्यान्स ८ खर्ब ३४ अर्ब ५१ करोड रुपैयाँको अन्तर देखिन्छ।

यो पनि 

विदेशीले धानेको श्रम क्षेत्र : भारतीय कामदार मात्रै ९ लाख

प्रकाशित: ३० फागुन २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =