नयाँ ऊर्जाका साथ काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ३० फागुन २०८० १६:१९
24
SHARES
नयाँ ऊर्जाका साथ काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत दिने सत्ता सहयात्री दललाई धन्यवाद दिएका छन्। प्रचण्डले विश्वासको मत पाएपछि सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘प्रतिनिधिसभाबाट विश्वासको मत दिनुहुने सत्ता सहयात्री दललगायत सम्पूर्ण राजनीतिक दलमा आवद्ध र स्वतन्त्र रूपमा क्रियाशील माननीय सांसदज्यूहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु।’

यसका साथै उनले नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्ण रूपमा खर्चिने बाचा गरेका छन्। प्रचण्डले भनेका छन्, ‘तपाईँहरूबाट प्राप्त यो विश्वास संसदमा विश्वासको मत लिनुपूर्व मैले बाचा गरेअनुरूप नयाँ ऊर्जाका साथ सुशासन, सामाजिक न्याय, समृद्धि र विकासको मार्गचित्रमा पूर्णरूप खर्चिने प्रतिबद्धता व्यक्त गर्दछु।’

यसअघि बुधबार प्रतिनिधिसभा बैठकमा उनले १५७ मतका साथ विश्वासको मत पाएका थिए।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्‍यो। एक सांसद तटस्थ रहे। बैठकमा २६८ सांसद उपस्थित थिए।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे। विश्वासको मतको विपक्षमा ११० सांसदले मतदान गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =