एकीकृत समाजवादीसँग ७ बुँदे सहमति, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

हिमाल प्रेस २९ फागुन २०८० १२:३५
6
SHARES
एकीकृत समाजवादीसँग ७ बुँदे सहमति, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ- सत्तारुढ ४ दल र एकीकृत समाजवादीबीच ७ बुँदे लिखित सहमति भएको छ।
सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेकपा एकीकृत समाजवादी बीच ७ बुँदे सहमति भएको छ।

मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरूबीच लिखित सहमति भएको हो।

सहमति पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकांक्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढंगले अघि बढ्न सहमत भएको उल्लेख छ।

सहमति पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ। योसँगै एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ।

त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ ।

त्यस्तै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने र संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ।

प्रकाशित: २९ फागुन २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =