मलेसियामा ‘प्रहरीलाई घुस खुवाएर’ बसिरहेका छन् अवैध नेपाली

रमेश भारती २९ फागुन २०८० १०:१९
92
SHARES
मलेसियामा ‘प्रहरीलाई घुस खुवाएर’ बसिरहेका छन् अवैध नेपाली क्वालालम्पुरस्थित निर्माण क्षेत्र नजिकै हिँडिरहेका विदेशी कामदार। तस्बिर साभार : द स्टार

काठमाडौँ- पर्वतका दिनेश पुरी नौ वर्षदेखि मलेसियामा अवैध रूपमा बसेर काम गर्दै आएका छन्। यस अवधिमा उनलाई  मलेसियाली प्रहरीले १४ पटकभन्दा बढी पक्राउ गर्दै छाड्दै गरेको छ। प्रहरीले पक्रिएपछि एकपटकमा एक हजार तीन सयभन्दा बढी रिंगिट पैसा लिएर छाड्ने गरेको पुरीले हिमालप्रेससँगको कुराकानीमा बताए। अहिले उनी स्टिल उद्योगमा कार्यरत छन्। उक्त कम्पनीमा उनी ३२ सय रिंगिट तलब पाउँछन्। पुरीले भने, ‘म स्टिल कटिङ हेड मिस्त्री हुँ।’

दुई महिनाअघि पनि पक्राउ परेका उनी प्रहरीलाई ११ सय रिंगिट तिरेर मुक्त भएको बताउँछन्। ‘मलेसियामा अवैध भएर काम गर्दा धेरै पैसा कमाइन्छ। कति बेला प्रहरीले समाउँछ भन्ने टुंगो हुँदैन। प्रहरीसँग पैसामा कुरा मिल्यो भन्ने केही हुन्न। नत्र सीधै जेल जाने हो’, उनले भने।

अहिलेसम्म एउटा कम्पनीमा एक वर्षभन्दा धेरै टिक्न नसकेको उनले बताए। पुरीले भने, ‘मलेसियामा कमाएको केही पैसा प्रहरीलाई घुस खुवाउनुपरेको छ। स्वदेश फर्किन पनि मन छैन।’ मलेसियाको ११ सहरका विभिन्न कम्पनीमा काम गरिसकेका पुरी आफूलाई कुन रोजगारदाता कम्पनीले कस्तो तलब दिन्छन् भन्ने जानकारी रहेको दाबी गर्छन्।

मलेसियाका राम्रा र ठूलै रोजगारदाता कम्पनीले अवैध कामदार राखेर काम लगाउने गरेको उनले बताए। मलेसियामा काम सिकेपछि प्राय: विदेशी कामदार धेरै कमाउने लोभमा अवैध हुने गरेको पुरीले बताए। ‘मलेसियाका कतिपय कम्पनीले अवैध रूपमा नेपाली कामदारलाई राख्न रुचाउँछन्। सीप भएका धेरै नेपाली कामदार अवैध छन्’, उनले भने। अवैध भएर काम गर्दा तीन गुणा बढी कमाइ हुने दाबी उनको छ।

पुरीजस्तै आठ वर्षअघि म्यानपावर कम्पनीबाट मलेसिया पुगेका पाँचथरका विक्रम लिम्बू पनि अहिलेसम्म स्वदेश फर्किएका छैनन्। उनले भने, ‘मलेसियामा अवैध भएर बसेको सात वर्ष भयो। अहिलेसम्म ११ पटकभन्दा बढी मलेसियाली प्रहरीले पक्राउ गरेको छ। प्रहरीलाई घुस खुवाएर छुट्ने गरेका कारण जेलचाहिँ बस्नुपरेको छैन।’

लिम्बूले अवैध रूपमा बसिरहेका नेपाली पक्राउ परे पनि प्रहरीले पैसा घुस खाएर छाड्ने गरेको बताए। ‘नेपालबाट आउँदा कम्पनी राम्रै परेको थियो। सुरुमा तलब पनि राम्रै पाइयो। दुई वर्ष पुग्न लागेपछि सेवासुविधा कटौती गर्न थाल्यो। अनि अर्को कम्पनीमा पुगेँ’, उनले भने, ‘अनुमतिबिना अर्को कम्पनीमा जानेको सबै कागजपत्र जफत गरेर त्यस्ता कामदारलाई अवैधानिक बनाइदिन्छ। मलाई अर्को कम्पनीले त्यस्तै गर्‍यो। दोस्रो कम्पनीमा १४ महिना काम गरेर फेरि भागेर अर्को कम्पनी पुगेँ।’ मलेसियाको कानुनअनुसार विदेशी कामदारले एउटा कम्पनी छाडेर अर्कोमा गएमा स्वत: गैरकानुनी मानिन्छ।

दीपक कार्की नामका नेपाली दलाललाई ३ हजार रिंगिट खुवाए पनि पासपोर्टलगायत सबै कागजपत्र मिलाउन नसकेपछि बाध्यताले अवैध भएर बस्नुपरेको उनी बताउँछन्। ‘अवैधानिक’ भएर पैसा कमाउन थालेपछि बचत हुन थालेको उनले जानकारी दिए।

मलेसियामा अवैध रूपमा बसेका नेपाली कामदारले आफ्नै देशका दाजुभाइ ठग्ने गरेको लिम्बू बताउँछन्। उनले भने, ‘मलेसियामा नेपालीले जे पनि गर्छन्। यतिसम्म कि यहाँको प्रहरीसँग मिलेर नेपालीलाई पक्राएर कमिसनसमेत खान्छन्। कतिपय नेपाली लुटपाट, झगडा, प्रहरीको सुराकी, फोन तस्करीजस्ता गैरकानुनी गतिविधिमा संलग्न छन्।’

अवैध बसेर पक्राउ परेका कामदारलाई मलेसिया सरकारले चर्को जरिबाना तिराउँछ। जसका कारण पनि पक्राउ परेका नेपाली त्यहाँको प्रहरीलाई घुस खुवाएर छुट्ने गरेको लिम्बूले जानकारी दिए।

तीन वर्षसम्म बसेका कामदार पक्राउ परे भने जरिबानाबापत २८ सय रिंगिट ९८५ हजार रूपैयाँभन्दा बढीसम्म तिर्नुपर्ने व्यवस्था छ। जरिबाना तिर्नबाट जोगिन नेपाली कामदार अहिले नेपाली दलालमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल फिर्ता हुन खोजिरहेका छन्। कतिपय नेपालीले मलेसियास्थित नेपाली दूतावाससँग मिलेर ट्राभल डकुमेन्ट बनाएर अवैध बसेको म्यानपावर कम्पनीका सञ्चालकहरू बताउँछन्।

करार सम्झौता उल्लंघन गर्दै तोकिएको कम्पनी छाडेर आफूखुसी अन्य कम्पनीमा काम गर्ने प्रवृत्ति बढेकाले गैरकानुनी कामदारको संख्या बढ्न थालेको मलेसियाली सरकारी अधिकारीहरू बताउँछन्। मलेसिया सरकारले गैरकानुनी रूपमा बसेका कामदार खोजतलास अभियान तीव्र पार्न थालेपछि नेपाली कामदार पक्राउ पक्राउ पर्न थालेका छन्।

मलेसियामा अवैध रूपमा काम गर्दै बसेका नेपाली कामदार धेरै समस्यामा पर्ने गरेको मलेसियास्थित नेपाली दूतावासका राजदूत डिल्लीराज पौडेलले बताए। उनका अनुसार मलेसिया रोजगारीमा आएका धेरै नेपाली अवैध बसेकै कारण समस्यामा पर्ने गरेका छन्। अवैध बसेका नेपाली बढी प्रहरीको फन्दामा पर्ने गरेको उनले बताए।

हाल मलेसियामा पाँच लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। जसमध्ये ७० हजारभन्दा बढी नेपाली कामदार त्यहाँ गैरकानुनी रूपमा बसेर काम गरिरहेको सरकारी अनुमान छ। मलेसियामा कानुनी रूपमा विदेशी कामदार तीन वर्षसम्म बस्न पाउने प्रावधान छ।

प्रकाशित: २९ फागुन २०८० १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =