गृहमन्त्री लामिछानेको निर्देशन : अनुहार हेरेर होइन, आधार हेरेर कारबाही अगाडि बढाउनुहोस्

हिमाल प्रेस २७ फागुन २०८० १५:५८
गृहमन्त्री लामिछानेको निर्देशन : अनुहार हेरेर होइन, आधार हेरेर कारबाही अगाडि बढाउनुहोस्

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन पनि प्रहरीलाई आग्रह गरे।

नेपाल प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन पनि निर्देशन दिए।

गृहमन्त्री लामिछानेले भने, ‘कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ।’

उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे।

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।

प्रकाशित: २७ फागुन २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =