रहस्यमयी ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

सुस्मिता बजगाईं २४ फागुन २०८० १३:०२
70
SHARES
रहस्यमयी ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

काठमाडौँ- सप्तऋषिमध्येका एक हुन् अगस्त्य। सौरभ चौधरीले यही नाममा केही अंग्रेजी शब्द थपेर फिल्म बनाए ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’। अंग्रजी नाम दिएर बनाइएको यो नेपाली फिल्म हो।

सस्पेन्स र थ्रिलर जनरामा बनाइएको फिल्ममा नेपाल र भारतबीच हुने मानव तस्करीलाई मुख्य विषयवस्तु बनाइएको छ। तराईको गोदना गाउँका भवानीसिंह त्रिपाठी (प्रमोद अग्रहरि) का तीन भाइ पिन्टु, पिंकु र विवेक यही धन्दामार्फत गाउँमा राज गरिरहेका छन्।

दैनिक बालबालिका हराउने र बेवारिसे लास भेटिने घटना बढेपछि त्रिपाठीको धन्दा चौपट पार्न, दुई प्रहरी सौर्य देव (सौगात मल्ल) र निसान (नाजिर हुसेन) लागिपर्छन्। उनीहरूलाई साथ दिन चिकित्सक चाँदनी (मलिका महत) थपिन्छिन्। यिनै पात्रको वरिपरि फिल्म सकिन्छ। उनीहरू आफ्नो मिसन पूरा गर्न सक्छन् त? त्यसका लागि हलमा पुग्नैपर्छ।

०००

फिल्मको कथा सुरु हुन्छ, ब्वाँ सो र सिंहको कथाबाट। मानसिक सन्तुलन गुमाएको एक व्यक्ति भारतको गोरखपुरस्थित रेल स्टेसनतिर भौँतारिइरहेको छ। पाइन्ट समातेर कुँदिरहेको छ। दृश्य छ संवादविहीन। ऊ त्यहाँका मानिसबाट निकै अपमानित हुन्छ। साथै ऊ सेतो पहिरनमा सजिएकी युवतीलाई बारम्बार सम्झिरहन्छ।

यता नेपालमा निसान सौर्यको खोजीमा रातदिन दौँडिरहन्छ। सौर्यको मानसिक अवस्था ठिक छैन। सौर्यले विक्रान्त अग्रवालकाे हत्या गर्छ। फिल्मको कथा कौतूहलपूर्ण हुन पटकथा बलियो र शृंखलाबद्ध हुनुपर्छ। द अनब्रेकेबल अगस्त्य : च्याप्टर वानको कथा न शृंखलाबद्ध देखिन्छ न दृश्य नै। अनेक कथा छन्। एकपछि अर्को कथा आइरहन्छ रहस्यमय रूपमा।

फिल्मको कथा भन्न निर्देशक चौधरीले नयाँ शैली अपनाएका छन्। फिल्म हेर्दा प्रश्न उठ्छ- सुस्त गतिमा फिल्मको कथा कता दौँडिरहेको छ। फिल्ममा एक घण्टासम्म यस्तै दृश्य हेरिरहनुपर्ने बाध्यता छ।

को हो सौर्य? निसानले उसलाई किन खोजिरहेको छ? उनीहरूको भेट हुन्छ त? सौर्य किन पागल बन्यो? किन एकपछि अर्को हत्या गर्दैछ? २ घण्टा ५० मिनेटको फिल्मको कथाभित्र के भइरहेछ बुझ्न फिल्मको अन्तिमतिर करिब १० मिनेटजतिको हेरे पुग्छ।

०००

फिल्ममा धेरै देखिरहने पात्र हुन्, सौर्य, निसान, चाँदनी, त्रिपाठी आदि। सौर्य र निसान मिल्ने साथी हुन्। चाँदनीचाहिँ सौर्यकी प्रेमिका। सौर्यकै वरिपरि घुमेको फिल्म हो अगस्त्य। मानसिक सन्तुलन गुमाएको चरित्रमा सौर्य मेहनती देखिन्छ। यही चरित्रअनुसार फिल्मको शीर्षकलाई सार्थक बनाउन खोजिएको छ।

अपराध गर्नेहरूलाई उसले आफ्नो पहिचान बदलेर सजाय दिएको देखाइएको छ। जसका लागि उसले पहिचान बदल्यो अन्तमा आफैँ पनि निरीह पात्र बनेको छ। प्रेमिकाको हत्या गरेको निहुँमा साथीको समेत हत्या गर्छ। अन्तमा घटनाक्रम रहस्यमय बनिदिन्छ।

निसान जो आफ्नै दुश्मनलाई नचिनेर उसैको खोजीमा पागलझैँ भौँतारिरहेको छ। अन्य फिल्ममा दुब्लो शरीर, तराई लवजमा देखिरहेको नाजिर अर्थात् फिल्ममा डीएसपीको भूमिकामा रहेका निसानको लवज र व्यवहार परिवर्तन देखिन्छ। प्रहरी भएपछि केही चलाख त देखिनैपर्‍यो तर आफैँ खलनायक बनेको पत्तो नपाउने अर्को निरीह पात्र।

अपराधीलाई जेलसम्म पुर्‍याउन गरेको भूमिका हेर्दा नेपाल प्रहरीले पनि यस्तै गरे कतिले न्याय पाउँथे, कति चेली सुरक्षित हुन्थे होला भन्ने लाग्छ। कथाको पाना पल्टिँदा को नायक, को खलनायक ठम्याउन हम्मेहम्मे पर्छ।

प्रमोद अग्रहरि चरित्रअनुसार नरम छन्। अपराधीको नाइकेको पनि आचरण त्यस्तो हुन्छ? पत्याउनै गाह्रो। त्यस्तै मलिकाको अभिनय चरित्रअनुसार औसत देखिन्छ। त्यता पनि रहस्यमय। कथा र पात्रको भावअनुकूल छायांकार सञ्जय लामाको मेहनत झल्किन्छ। त्यस्तै कहिले सौर्य खोज्ने, कहिले चाँदनी त कहिले न्यायका निम्ति द्वन्द्व भइरहन्छ। फिल्ममा छायांकन र द्वन्द्वपक्ष बलियो छ।

नेपालमा कमै बनेको सस्पेन्स र थ्रिलर जनरामा फिल्म अगस्त्यले केही हदसम्म उचाइमा पुर्‍याउने काम गरेको छ। फिल्म बलिउड शैलीमा देखाउन खोजिएको छ। चरित्रलाई उतार्न मध्यान्तरसम्म खर्चिएको समयलाई सम्पादनमा ध्यान दिन सकिएको भए अझ प्रभावकारी हुने थियो। कथामा चेली किन बेचिए? अजित (निश्चल बस्नेत) किन जेल पर्‍यो? मरेकी चाँदनी जिउँदै कसरी? त्रिपाठी जेलमा मौन बसिरहला? लगायत धेरै रहस्य जुन खाेतल्न दाेस्राे भागकाे कुर्नुपर्ने छ।

फिल्म फागुन १८ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङदेल, बेन बस्नेतलगायतको अभिनय छ। फिल्मका निर्माता प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल हुन्।

प्रकाशित: २४ फागुन २०८० १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =