‘समृद्धिको ढोका खोल्न दिल्ली आएको छु’

हिमाल प्रेस २१ जेठ २०८३ १९:१५ | Thursday, June 4, 2026
16
SHARES
‘समृद्धिको ढोका खोल्न दिल्ली आएको छु’ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू समृद्धिको ढोका खोल्न भारत भ्रमणमा आएको बताएका छन्। पाँचदिने भारत भ्रमणमा रहेका सभापति लामिछानेले बिहीबार दिल्लीमा रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

नयाँदिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिस आए पनि आफू समृद्धिको ढोका खोल्न आएको उनले बताए।

‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिस आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हो,’ उनले भने,‘समृद्ध नेपालको सपनामा सहकार्य गर्ने एजेन्डा बोकेर दिल्ली आएको हुँ, मेरा व्यक्तिगत माग मुद्दा केही पनि छैनन्, पार्टीका माग मुद्दा केही पनि छैनन्। मेरा माग र मुद्दा नेपालीको उन्नतिमा मात्र केन्द्रित छ, त्यतिका लागि दिल्ली आएको हुँ।’

सभापति लामिछानेले आफूले बोल्नुभन्दा तस्बिरहरूले बोलिसकेको जिकिर गरे।

‘आज धेरै भाषण गर्दिनँ, किनभने मैले बोल्नुभन्दा पनि तस्बिरहरूले आफैँ बोलिसकेका छन्, के हुँदैछ, कहाँ जाँदैछ भने,’ उनले भने,‘जुन निमन्त्रणा हामीलाई प्राप्त भयो, जुन सद्भाव र सत्कार प्राप्त गरेँ, त्यो सम्मान तपाईँहरूप्रति भारत सरकारले गरेको सम्मान हो। सम्मानका लागि भारतीय जनता पार्टी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु।’

सम्मानितमात्र भएर नहुने भन्दै उनले अब समृद्धिको ढोका खोल्ने बताए। सभापति लामिछानेले समृद्धिको खाका कोर्ने उद्देश्यले आफू दिल्ली आएको उल्लेख गरे।

‘भारतले विकासको खुड्किलो पार गरिरहँदा हामी छेउमा बसेर हेरिमात्र रह्यौँ,’ उनले भने,‘ सँगसँगै यात्रा गर्ने, समृद्धिको बाटोमा यात्रा गर्ने, स–साना कुराहरुलाई मिलाउँदै, संवाद गर्दै अगाडि जाने, असन्तुष्टिहरुलाई संवोधन गर्दै विभिन्न कूटनीतिक चरणहरुलाई सक्रिय बनाउँदै समृद्धिको खाका कोर्ने उद्देश्य बोकेर दिल्ली आएको हो।’

सभापति लामिछानेले भारत भ्रमणका क्रममा भएका छलफल र बैठकहरूमा ध्यानपूर्वक सुनिएका नेपालका कुराहरूबाट आफू आशावादी भएको बताए।

उनले सरकारका विषयमा उडेका हल्लाहरूलाई विश्वास नगर्न अनुरोध गरे।

‘हामी सरकार सञ्चालनको सुरुवाती दिनमा छौँ, हामीले गर्नुपर्ने काम बाँकी नै छ, हामीबाहेक सबै प्रतिपक्षी भएको जनमत हामीले प्राप्त गरेका छैँ,’ उनले भने, ‘त्यसकारण सरकारबाट केही वातावरण बिग्रिन्छ कि भन्ने हल्ला फैलिँदै फैलिँदै तपाईँको कानसम्म पनि आइपुग्ला त्यस्तो हल्लाको पछाडि नलाग्नु होला, हामी पूर्ण प्रतिबद्ध भएर यो देशलाई निकास दिन आएका हौँ।’

प्रकाशित: २१ जेठ २०८३ १९:१५ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast