संघमा सत्ता समीकरणको असर

कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा 

विवेक विवश रेग्मी २१ फागुन २०८० १७:४२
228
SHARES
कोशीमा एमालेले माग्यो मुख्यमन्त्री कार्कीको राजीनामा 

इटहरी- केन्द्रमा सत्ता गठबन्धनको समीकरण फेरिएपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा माग गरेको छ। कोशी प्रदेशसभाका नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रको सत्ता समीकरण फेरिएपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन्।

‘केदार कार्कीजी सीधै केन्द्रको गठबन्धनमा सामेल भएका कारण केन्द्रीय गठबन्धन टुटेपछि उहाँ स्वतः अल्पमतमा पर्नुभयो,’ भण्डारीले भने, ‘त्यसैले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।’ प्रदेश प्रमुखले अर्को सरकार गठनको निम्ति विकल्प निकाल्नुपर्ने उनले बताए। कार्की नेतृत्वको सरकार संविधानको १६८ (५) बमोजिम गठन भएको हो। सरकार गठन गर्न संविधानको सबै धारा प्रयोग गरिए पनि विकल्पको सरकार गठन गर्न कुनै रोकछेक नहुने एमाले नेता भण्डारीको भनाइ छ।

‘संविधानको ५ वटै धारा प्रयोग भएपछि विकल्पको सरकार बनाउन नहुने भनेर कहीँ लेखिएको छैन,’ सचेतक भण्डारीले हिमाल प्रेससँग भने, ‘जनताले पाँच वर्षसम्म म्यान्डेड दिएका कारण अब संविधानको जुनसुकै धाराबाट पनि प्रदेश प्रमुखले सरकार गठन गर्न सक्नुहुनेछ।’ उनका अनुसार सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ (२) वा १६८ (५) बमोजिम गर्न सकिनेछ। ‘मुख्यमन्त्रीले राजीनामा नदिए हामी आफैँ राजीनामा गराउँछौं,’ भण्डारीले भने, ‘अब वैकल्पिक सरकार बन्ने हो। सरकार गठनका लागि कुनै संवैधानिक अड्चन छैन।’  सरकारसँग जुनसुकै समयमा पनि बहुमत हुनुपर्ने र अल्पमत भएको अवस्थामा कानुनी हिसाबले सरकार ढल्ने उनले बताए।

केन्द्रको सत्ता समीकरण फेरबदल भएपछि कोशीका मुख्यमन्त्री कार्कीसँग बहुमत छैन। त्यसो हुँदा एमालेले कोशीमा पुनः सरकार गठनबारे आन्तरिक छलफल थालेको छ। कोशीमा एमालेकै नेतृत्वमा सरकार गठन हुन्छ त भन्ने प्रश्नमा भण्डारीले भने, ‘ठूलो दलको हैसियतले सम्भावना छ। परिस्थितिले के भन्छ, कसको नेतृत्वमा सरकार बन्छ अहिल्यै भन्न सक्ने अवस्था छैन।’ कोशीमा ठूलो दलको हिसाबले एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने दाबी उनको छ।

कोशीमा अब एमाले-माओवादीसहितको गठबन्धनबाट वैकल्पिक सरकार बन्ने उनले बताए। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने वर्तमान सरकारको विकल्पबारे ठोस धारणा नबनाइसकेको बताए। ‘केन्द्रीय समीकरणको प्रभाव स्वाभाविक रूपमा प्रदेशसम्म हुन्छ नै। केन्द्रको प्रभावले प्रदेशमा अब कस्तो परिस्थिति आउँछ भन्नेबारे छलफल भएको छैन,’ उनले भने, ‘हामीकहाँ अन्य प्रदेशको भन्दा परिस्थिति भिन्न भएका कारण प्रदेशसभा विघटन गर्ने वा वैकल्पिक सरकार बन्ने भन्नेबारे छलफल हुनै बाँकी छ।’

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार परिवर्तनबारे कानुनका जानकारहरूसँग छलफल गरिने उनले बताए। ‘यसबारे कानुनका विज्ञहरूसँग छलफल हुन्छ। अहिल्यै ठोस धारणा केही बनाएका छैनौँ।’

गत असोज २७ गते संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्कीले १ कात्तिकमा विश्वासको मत लिएका थिए। कांग्रेसका डा. शेखर कोइराला समूह निकट रहेका आठ सांसद र नेकपा एमालेका ३९ जना सांसद गरी ४७ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री बनेका कार्कीले १७ कात्तिकमा नेकपा एकीकृत समाजवादी र माओवादीलाई पनि सरकारमा समावेश गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो। एमाले तत्काल सरकारबाट बाहिरिए पनि विश्वासको मत भने फिर्ता लिएको छैन। एमाले प्रतिपक्षमा बसेको छ।

मुख्यमन्त्री भएको चार महिनापछि गत माघ २६ गते कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।

कोशी प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक जना प्रदेशसभा सदस्य छन्। एमालेका ४० (उपसभामुखसहित) र राप्रपाका ६ (सभामुखसहित) सांसद छन्।

प्रकाशित: २१ फागुन २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =