विन्ध्यवासिनी सहकारी ठगी प्रकरणमा अध्यक्षसहित तीनजना पक्राउ

हिमाल प्रेस २१ फागुन २०८० १५:२३
46
SHARES
विन्ध्यवासिनी सहकारी ठगी प्रकरणमा अध्यक्षसहित तीनजना पक्राउ

पोखरा- विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा अध्यक्षसहित तीनजना पक्राउ परेका छन्। पोखरा–९ नयाँबजारमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको करिब ७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अध्यक्ष सुवर्णमान नकर्मीसहित उदित पौडेल, कृष्णमान श्रेष्ठलाई पक्राउ गरेको हो।

सहकारीको रकम हिनामिना गरेको विषयमा छानबिन माग गर्दै बचतकर्ताले सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा उजुरी दिएका थिए। छानबिनमा झन्डै ७ करोड रुपैयाँ हिनामिना गरेको प्रतिवेदन प्रहरीसमक्ष पुगेको थियो।

सहकारी अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदीले अन्य पदाधिकारीको किर्ते हस्ताक्षर गरी सहकारीको जग्गा तथा रकम दुरुपयोग गरेको भेटिएको छ। उनीहरूले सहकारीको नामको ३ रोपनी जग्गा बगालेटोलको लेकसिटी हस्पिटललाई बेचेका थिए।

उक्त कुरा बाहिरिएपछि गत पुस २६ मा उनीहरू दुवैले ८ दिनभित्र उक्त जग्गा संस्थाको नाममा ल्याउने र त्यसो गर्न नसके आधाआधा रकम बेहाेर्ने सहमति गरेका थिए। तर यतिका समय बितिसक्दा पनि जग्गा सहकारीको नाममा आउन सकेको छैन।

लेकसिटी हस्पिटलका अध्यक्ष उदित र सहकारीका सचिव गंगाधर भाइ नाताका हुन्। स्याङ्जाको फेदीखोला गाउँपालिका-७ का गंगाधर पोखरामा अपेक्षा बुक्स एण्ड स्टेशनरीसमेत चलाउँछन् ।

सहकारीको संयुक्त खाता सञ्चालन गरी १ करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा  कृष्णमान श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ। उनले अध्यक्ष नकर्मी र सचिव सुवेदीसँगै आफ्नो नामको संयुक्त खाता सञ्चालन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =