अमेरिकाको पर्यटक प्रवर्द्धकमा फेरि विनोद अधिकारी

हिमाल प्रेस १८ फागुन २०८० २१:१०
188
SHARES
अमेरिकाको पर्यटक प्रवर्द्धकमा फेरि विनोद अधिकारी

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाका लागि विनोद अधिकारीलाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको छ। बिहीबार मन्त्रालयले विभिन्न देशका लागि २९ जना पर्यटक दूत नियक्त गर्ने क्रममा अधिकारीलाई पनि नियुक्त गरेको हो।

अधिकारीले दोस्रो पटक यो जिम्मेवारी पाएका हुन्। यसअघि पनि अधिकारी मन्त्री स्तरीय निर्णयबाट चार वर्षका लागि अमेरिकाका लागि पर्यटक प्रवर्द्धन नियुक्त भएका थिए।

सरकारले पर्यटनको क्षेत्रमा बृहत्तर योगदान दिने व्यक्तिलाई पर्यटक प्रवर्द्धकको जिम्मेवारी सुम्पिँदै आएको छ। दोहोरिएर यो जिम्मेवारी पाउने अधिकारीले १५ वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा अनवरत योगदान दिइरहेका छन्।

यूएन तथा नेटजीओ जस्ता अन्तर्राष्ट्रिय संस्थासँग हातेमालो गरी नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका अधिकारीले वृत्तचित्र निर्माण तथा फोटो भिडियोमार्फत पनि नेपाललाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान गर्दै आएका छन्।

पर्यटन मन्त्रालयले सद्‌भावना दूत निर्देशिका, २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ। अधिकारीले सगरमाथाको २८औं पटक सफल आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पाको आरोहणलाई समेटेर ‘एभरेस्टमेन’ शीर्षकको डकुमेन्ट्री निर्देशन गरेका अधिकारीले हालसालै नेपालबाट स्ट्यान्ड कमेडियनको टोली लिएर मनोरञ्जनात्मक कार्यक्रम ‘अब हाँस्छ अमेरिका’ आयोजना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यको बारेमा पनि प्रचार गरेका थिए।

अधिकारीले नेपाल सरकारको यो निर्णयले आफूलाई जिम्मेवारीका साथ काम गर्न उर्जा प्रदान गरेको बताए। ‘सरकारले अमेरिकाका लागि दोहोर्‍याएर यो जिम्मेवारी प्रदान गर्ने कुरालाई मैले उपलब्धिको रूपमा लिएको छु,’ अधिकारीले भने, ‘विदेशमा बस्ने नेपालीहरू त्यसै पनि देशका पर्यटक दूत हुन्। तर औपचारिक जिम्मेवारी पाउँदा यसले त्यही काम गर्न सजिलो बनाउँछ। सरकारले दिएको यो जिम्मेवारी अपेक्षाअनुसार निर्वाह गर्न म कटिबद्ध छु।’

अधिकारीले कार्यविधि र सरकारको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १८ फागुन २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =