अहिलेका पत्रकार अलपत्रकार : अग्रज पत्रकार भैरव रिसाल

रमेश दवाडी १७ फागुन २०८० १६:२७
124
SHARES
अहिलेका पत्रकार अलपत्रकार : अग्रज पत्रकार भैरव रिसाल

काठमाडौँ- काठमाडौँको अनामनगर चोकबाट घट्टेकुलोतर्फ लागेर भित्र छिरेपछि एउटा रातो घर देखिन्छ। सोही घरको माथिल्लो तलामा बस्छन् अग्रज पत्रकार भैरव रिसाल। ९६ वर्षीय रिसाल प्रायः अध्ययनमा व्यस्त हुन्छन्।

केही वर्षअघिसम्म रिसाल अनामनगर चोकमा आउँथे। प्रशासनिक, राजनीतिज्ञलगायतसँग कुराकानी गरेर समय बिताउँथे। जाडोमा घाम ताप्ने प्रमुख स्थान अनामनगर चोक थियो। अहिले रिसालले घर छोड्दैनन्। हिँड्न सक्दैनन्। उठ्न-बस्न पनि सहारा चाहिन्छ। कान कम सुन्छन्। घरमै बसेर अध्ययन गर्छन्। रेडियो सुन्छन्। लेख्न खोज्दा उनको हात काँप्छ।

भेट्न पुगेका मान्छेसँग उनी पत्रकारिताकै कुरा गर्न रुचाउँछन्। आफू क्रियाशील हुँदाको  पत्रकारिता र अहिलेको पत्रकारिता तुलना गर्छन्। नेपालमा अहिले पत्रकारिता नभएर पर्चाकारिता र पैसाकारिताको बोलवाला रहेको उनको बुझाइ छ। उनले भने, ‘अहिले पत्रकारिता छ कि छैन? तपाईँलाई नै प्रश्न गर्छु। अहिले पत्रकारिता छ? मेरो विचारमा अहिले पत्रकारिता नभएर पर्चाकारिता र पैसाकारिता छ।’

उनको बुझाइमा विगतमा मानिसले पत्रकारिता पढेका थिएनन् तर पत्रकारिता थियो। अहिलेचाहिँ पत्रकारिता पढाइमै सीमित रहेको रिसाल बताउँछन्। उनी भन्छन्,‘मेरो पालामा पत्रकारिता थियो। मानिसले पत्रकारिता पढेका थिएनन्। अहिले पत्रकारिता पढेका छन्। ठूलाठूला उपाधि पनि लिएका छन् तर पत्रकारिताचाहिँ छैन।’

रिसालले त्यस्तो समयमा पत्रकारिता गरे जुन समयमा नेपालमा टेलिफोन थिएन। त्यसैले स्रोतसम्म पुग्न सहज नभएको उनको अनुभव छ। ‘मेरो पालामा दुःख थियो। टेलिफोन गर्न पनि पाइँदैनथ्यो। अहिले प्रविधि प्रयोगले पनि स्वर्गजस्तै बनाएको छ। प्रविधि ऊबेला पनि थियो तर प्रयोग थिएन,’ रिसाल भन्छन्।

आफ्नो पालामा पत्रकारले निकै दुःख पाएको अनुभव उनी सुनाउँछन्। साथै त्यति बेला भाषाको समस्या हुँदा आफूलाई बेलाबेलामा समाचार लेख्न पनि कठिन भएको उनले बताए।

अग्रज पत्रकार रिसाललाई यस्तै एउटा घटना सम्झनामा रहेछ। संयुक्त राष्ट्रसघंका तत्कालीन महासचिव ऊ थान्त नेपाल भ्रमण आउँदा रिसाल रिपोर्टिङ गर्न सिंहदरबार पुगेछन्। ढोकामा उभिएर ऊ थान्तको  भनाइ टिप्न  लाग्दा उनी फसादमा परेछन्। भएछ के भने ऊ थान्त अंग्रेजीमा कुरा गरिरहेका थिए। रिसाललाई उनको अंग्रेजी बुझ्न कठिन भएछ। अनि अंग्रेजी शब्दलाई देवनागरी लिपिमै लेखेर कार्यालय गएको रिसाल स्मरण गर्छन्।

रिसाल सम्झन्छन्, ‘ऊ थान्तले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर निस्कनुभयो। म अंग्रेजी जान्दैनथेँ। सिंहदरबारको ढोकामा उभिएँ। उहाँले अंग्रेजीमा बोल्नुभयो। नबुझेपछि अंग्रेजीको भनाइ देवनागरी लिपिमै लेखेँ।’ रिसाल साथीहरूसँग अंग्रेजी भाषा अनुवाद गरेर समाचार लेखेर बुझाएको बताउँछन्। ‘पछि साथीहरूसँग गएर मिलाएर लेखेँ। मैले धेरै दुःखकष्ट पाएँ तर गाल परेन।’

पत्रकारिताकै प्रसंगमा रिसालले प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाबारे चाखलाग्दो प्रसंग सुनाए। धर्मराजलाई ‘जनकविकेशरी’ का उपनामले चिनिन्छ। उनले वि.सं.२०१३ मा राजा महेन्द्रबाट सो उपाधि पाएका थिए। मनाङतिर लोकगीत संकलन गर्न गएका धर्मराज धेरै दिनसम्म फर्केनछन्। समाज  पत्रिकामा उनको मृत्युको समाचार छापिएछ।

‘त्यतिबेलै पोखरा गएका नरप्रताप शमशेरले धर्मराजलाई देखेर बोलाएछन्,’ रिसाल भन्छन्, ‘नरप्रतापले धर्मराजलाई ‘तपाईं त मर्‍यो भन्ने हल्ला छ, काठमाडौँ गएर तुरुन्त समाजका सम्पादकलाई खण्डन छाप्न लगाउनुहोस् भने। केही दिनपछि समाजमा खण्डन छापियो।’ सत्यतथ्य नबुझी समाचार लेख्दा हुने असर रिसालले धर्मराजको घटनालाई स्मरण गरेका हुन्।

रिसालले पत्रकारिता गरिरहेका र पत्रकारितामा आउन चाहनेहरूलाई श्रम गर्न सल्लाह दिए। ‘पत्रकारितामा सुख खोज्नु हुँदैन। पत्रकारितामा दुःख हुन्छ। दुःख नगरी ठोस कुरा आउँदैन। पत्रकारितामा महत्त्वाकांक्षा मात्र राख्ने होइन, परिश्रम गर्नुपर्छ। आफूलाई तिखार्न नसके पत्रकार भइँदैन। अलपत्रकार भइन्छ। अलपत्रकारको काम छैन।’ अहिले पत्रकारभन्दा अलपत्रकार धेरै रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिले त पत्रकारभन्दा अलपत्रकार धेरै छन्।’

प्रकाशित: १७ फागुन २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =