डढेलो लगाउने दुईजना पक्राउ

हिमाल प्रेस १८ वैशाख २०८१ १६:२१
10
SHARES
डढेलो लगाउने दुईजना पक्राउ सांकेतिक तस्बिर।

गुल्मी- गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी रहेको डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पङ्कजकुमार ठाकुरले जानकारी दिनुभयो। उनीहरूलाई वन ऐन २०७६ मार्फत् आगो लगाएको कसूरमा मुद्दा चलाउने तयारी गरिएको छ।

पक्राउ परेकालाई तीन वर्ष कैद र रु ६० हजार जरिवाना वा दुवै सजाय हुने निमित्त वन अधिकृत ठाकुरले बताए। आरोपित दुवै जनाले सामुदायिक वनमा आफूहरूले आगो लगाएको स्वीकार गरेका छन्। उनीहरूलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो। उनीहरूले गत ७ गते आगो लगाएर फरार भएका थिए। डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदै गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको जनाएको छ।

कुनै व्यक्तिको लापरबाहीबाट डढेलो लागेको र त्यसले ठूलो क्षति गरेको भन्दै जनचेतना जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताए। ठाकुरले आगो लगाएको सुराकी दिने व्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि बताए।

हाल गुल्मीका १२ स्थानीय तहका ८० सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोबाट दुई हजार बढी हेक्टर क्षेत्रफल वन नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको इस्मा, मदाने र गुल्मी दरबारमा घरगोठमा थुप्रै क्षति भएको छ। घटनास्थलमा राहत र उद्धारको काम भइरहेको जनाइएको छ। रासस

प्रकाशित: १८ वैशाख २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =