राजनीति तातो पिँडालु बन्यो

हिमाल प्रेस २ फागुन २०७९ १८:३७
14
SHARES
राजनीति तातो पिँडालु बन्यो

नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ। विभिन्न कालखण्डमा ठूला परिवर्तनहरू पनि भए तर त्यसको उद्देश्यअनुसार परिणाम भने आउन सकेन। राजनीति सुकिलो हुनुपर्नेमा फोहरी बन्यो। नेताहरू निर्लोभी हुनुपर्नेमा लोभी भए। लोभी पनि औधी लोभी। नेता राजनीतिक कार्यकर्ता र जनताका लागि हुनुपर्नेमा आफू र आफन्तका लागि सीमित भए। यसले गर्दा नेताबाट जनताको विश्वास हराउँदै गयो। राजनीति नदीको पानीजस्तै सलल्ल बग्नुपर्नेमा जम्दै गयो। जमेको पानी फोहर बन्यो। सलल्ल बगेको राजनीति चोखो हुन्थ्यो। चिसो कुरा चिसो नै हुन्छ। सक्कली भनेको सक्कली नै हो। यसमा केही जोडिरहनु पर्दैन। नक्कलीलाई जति सिंघारे पनि कहिल्यै सक्कली हुँदैन। यो ध्रुवसत्य हो। आज नेपालको राजनीति यस्तै अवस्थाबाट गुज्रँदै आएको छ।

जनयुद्ध सुरु हुने ताका आम सर्वसाधारण, धेरै नेपालीलाई थाहा भइसकेको थियो कि राजा वा राजसंस्था चाहे त्यो संवैधानिक होस् वा प्रत्यक्ष होस् त्यसको आवश्यकता वा औचित्य छैन भन्ने भइसकेको थियो। तत्कालीन राजा प्रत्यक्ष शासन गर्ने दाउमा थिए। जबकी राजाको प्रत्यक्ष शासनको युग समाप्त भइसकेको थियो। त्यतिबेला नै मानिस बाँधिएर बस्न चाहेका थिएनन्। जुन २० औँ शताब्दीको सन्देश थियो।

स्वतन्त्रताको स्वादिलो हावा नेपालमा विसं १९८७ देखि लाग्न थालिसकेको थियो। नेपालमा खड्गमान बस्न्यातजस्ता केही युवकले उतिबेला नै राणा शासन उखेलेर राजाको शासन ल्याउन चाहेका थिए तर परिस्थिति परिपक्व हुन बाँकी नै थियो। राणाहरूको पारिवारिक एकतन्त्रीय शासनले युवा विद्रोहीलाई गिरफ्तार गरी निर्मम सजाय दिनेबाहेक राणाहरूले अन्य विकल्प देखेनन्। त्यो आन्दोलन दमन गरियो। परन्तु चेतनाको टुसो नेपाल पसिसकेको थियो। पछि त्यो टुसो मोरङमा टुसायो। कृष्णप्रसाद कोइराला पूर्वी नेपालको दुम्जामा जन्मिएका रहेछन्। बसाइँ सर्दासर्दै मोरङ पुगेछन्। विराटनगरमा बसोबास गरेछन्। औलोको खानी मोरङ विराटगर, तर औलोसँग जुधी त्यहीँ बसोबास गरे।

भारतमा पनि इस्ट इन्डिया कम्पनी सरकारले व्यापार गर्दा गर्दै अङ्ग्रेजलाई हटाई भारतीयहरूद्वारा सरकार सञ्चालन गर्ने चेतना आएछ। भारतीयहरूद्वारा नै शासन गर्ने मनसायले अखिल भारतीय राष्ट्रिय कांग्रेस गठन गरियो। यता राणाहरूको नीति पैसा मस्त कमाउन दिने र सरकारी ठेक्का दिने थियो। काम सकिएपछि यसका कमजोरी पत्ता लगाई जरिवाना गर्ने नीति थियो। सर्वस्वहरण गर्ने उनीहरूको नीति थियो। जसले कमाएको छ सबै सर्वस्व हुन्थ्यो। त्यो सम्पत्ति श्री ३ महाराजको हुने गथ्र्यो। राणा शासनको यस्तो चङ्गुलमा कृष्णप्रसाद कोइराला पनि परेछन्। उनले भन्सार अड्डाको ठेक्का लिएछन्। पछि त्यसैका आधारमा उनको सर्वस्वहरण भयो।

उनले शिक्षाको महत्त्व राम्ररी बुझेका थिए। विराटनगरमा विद्यालय खालेर आफ्ना छोराहरू मातृका र विश्वेश्वर (वीपी) लगायतलाई पढ्न लगाएका थिए। कृष्णप्रसादको सर्र्वस्व भएपछि नेपाल बस्न नसकी भारतमा प्रवासी बन्न पुगे। आफ्ना छोराछोरीलाई उतै पढ्ने व्यवस्था मिलाए। त्यसैबेला भारतमा स्वतन्त्रता आन्दोलन चर्किएको थियो। मातृका, विश्वेश्वर पनि भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिन पुगे। आन्दोलनमा उनीहरू पक्राउ परे। मनमोहन अधिकारी पनि भारतीय स्वतन्त्रता सङ्ग्राममा संलग्न भए। वीपीलगायत केही व्यक्तिलाई अड्डासार गरी काठमाडौँ ल्याई थुनियो। यो घटनाले पहाडमा प्रजातन्त्रको चेतना ल्यायो। यसै क्रममा कृष्णप्रसाद थुनामा परे, त्यहीँ उनको मृत्यु भयो। छोराहरूले उनको काजकिरिया पनि गर्न पाएनन्।

यसैबेला पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरी छपाए। यसले नेपालमा ठूलो प्रभाव पा¥यो र नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो। राणा विरोधी आन्दोलन बिस्तारै बढ्न थालेको थियो। सशस्त्र क्रान्ति हुने नै भयो। राजा त्रिभुवन माइला नाति ज्ञानेन्द्रलाई राजगद्दी छाडी दिल्ली गए। उनी दिल्लीमा नेहरुको घरमा बसे। भारत सरकारले भेट्न अनुमति दिएका व्यक्तिले मात्रै राजासँग भेट्न पाउँथे। राजा त्रिभुवन एक किसिमले नजरबन्दमा थिए।

यता नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन भयो। थीरबम मल्ल शहीद बने। आन्दोलन केही समय शिथिल बन्नपुग्यो। पछि फेरि हतियार ल्याएर आन्दोलनलाई सशक्त पारियो। मोहन शम्शेरले ज्ञानेन्द्रको नाममा टकमरी (नाममा पैसा छाप्ने) गराएका थिए। पछि त्यो हट्यो। त्रिभुवन नेपाल आउने भएपछि मोहन शम्शेरले ठूलै रकम त्रिभुवनलाई दिएका थिए भनिन्छ। राणा शासन र प्रजातन्त्र मिलाउने काममा विजय शम्शेरले ठूलो भूमिका खेलेका थिए।

प्रजातन्त्र आएपछि नेपाली जनताले आफ्ना प्रतिनिधिले छानेको विधायिका सभाका सदस्यले संविधान बनाउँछन् भनिएको थियो तर त्यसमा राजा इमान्दार रहेनछन्। राजाले चुनाव गराउन खोजेनन्। प्रधानमन्त्री टङ्कप्रसाद आचार्यमार्फत छिट्टै विधानसभा वा संसद्को चुनाव हुन्छ भन्न लगाए। राजाले २०१५ फागुन १ गते चुनाव हुने घोषणा गरे तर केको चुनाव हुने भन्ने प्रष्ट भनेका थिएनन्। भित्रभित्रै राजाले बेलायतका संविधानविद् सर आइभर जेनिङलाई संविधान लेख्न लगाई फागुन १ गते नै संविधानको घोषणा गरे।

एकैचोटि २०१५ फागुन ७ गतेदेखि संसद्को चुनाव सुरु भयो। मतदान विभिन्न चरणमा भयो। त्यतिबेला कांग्रेसको प्रभाव भएकाले जनताले पनि कांग्रेसलाई नै भोट दिए। झण्डै दुई तिहाइ सिट जितिन्छ भन्ने स्वयं वीपीलाई पनि विश्वास थिएन भने राजालाई कुनै पार्टीले बहुमत ल्याउँछ भन्ने लागेको थिएन। राजाका नजिककाहरूले कसैले पनि बहुमत ल्याउन सक्दैन भनेर विश्वास दिलाएका थिए। वीपीले पनि कांग्रेसको खास शक्ति कति हो भनी अनुमान गर्न सकेका थिएनन्।

राजनीति तातो पिँडालु बन्यो

मुलुकमा प्रजातन्त्र आए पनि जनतामा त्यसको अनुभूति हुन सकेन। जनता र नेताबीचको खाडल बढ्दै गयो। चुनाव लड्ने नेताहरूमा पनि प्रजातन्त्रप्रति विश्वास घट्दै जान थाल्यो। यसले गर्दा नेपालको राजनीति एक पछि अर्को विकृत हुँदै जान थाल्यो। अहिले त धेरैजसो नेताहरू नै राजनीतिबाट त्रसित बन्न थालेका छन्। अहिले पार्टी नेतालाई हेर्ने भयो वा नेताले पार्टीलाई आफ्नो अनुकूल बनाउन थाले। सत्तामा जोसुकै होस् उनीहरूका लागि राजनीति तातो पिँडालुजस्तो भएको छ। न खाउँ भने भोक लागेको छ, खाउँ भने तातो पिँडालुले पोल्छ।

राजनीतिमा इमान्दारी भएन भने त्यसको प्रतिफल विकृत आउँछ। यसैगरी राजनीति विकृत बन्दै जाने हो भने देशै बिग्रने सम्भावना छ। अहिले राजनीतिक मैदानमा मुख्यगरी प्रचण्ड, केपी ओली र देउवा मुख्य खेलाडी छन्। अझै मौका छ, यी तीन नेताले बुद्धि पु¥याई राजनीतिलाई सही दिशामा डोहोर्‍याउन सक्नुपर्छ। अरु पार्टीलाई जनताले पत्याएका छैनन्। देश सप्रेमा वा बिग्रेमा यसको दायित्व नेपाली जनतामा होइन, यिनै नेताहरूमा जान्छ। नेपाली जनता धेरै ज्ञानी र धैर्यशील छन्।

मिडियाको भूमिका महत्त्वपूर्ण

राजनीतिलाई गलत बाटोमा जान नदिन मिडियाको पनि उत्तिकै भूमिका हुनुपर्छ तर यतिबेला नेपालको मिडिया अलमलमा परेकोजस्तो देखिन्छ। कतिपय मिडियाले त प्रतिगमनलाई पनि पछ्याएको देखिन्छ जुन सरासर गलत हो। प्रतिगमन कहिल्यै अग्रगमन हुन सक्दैन। वर्षौंवर्षदेखि स्वतन्त्र, स्वाधीन, स्वाभिमानी रहँदै आएको नेपाललाई आजको पुस्ताले उज्यालो बनाउनुपर्छ। यो पावन काममा नेपालको मिडियाले निःस्वार्थरूपमा निश्चित फलाकाङ्क्षी नभई सघाउनुपर्छ। संस्थाहरू उत्तरदायी हुनु भनेको यस्तो अप्ठ्यारोमा हो। सजिलो परिस्थितिमा त जो कोही पनि नजिक जान्छन्, असजिलोमा सहयोग गर्नु नै सिद्धान्तप्रति इमान्दारी हो, समर्पण हो।

अन्त्यमा राजनीतिक प्रणालीलाई जनतासँग जोड्ने काममा राससले अग्रणी भूमिका खेल्न सक्नुपर्छ। राससलाई जनताले हाम्रो हुनुपर्छ भनेका छन्। सरकारबाट पनि विपक्षी नहुने र राजनीतिक पार्टीहरू पनि विपक्षी नहुने आम जनता कसरी आफ्नो हुन्छन् ? भन्ने कुरामा रासस सधैँ चनाखो हुनुपर्छ। राससले आफ्नो योगदान गर्ने भनेको सुविधा र सजिलो बेलामा नभई यस्तै असजिलो अवस्थामा आफ्नो परिचय दिनुपर्छ। राजनीतिक प्रणाली र नेताहरूप्रति अविश्वास बढ्न नदिन र जनतामा सकारात्मक सञ्चार गराउन राससले अभिमत निर्माण गर्न सक्नुपर्छ। (लेखक वरिष्ठ पत्रकार हुन्) रासस

 

प्रकाशित: २ फागुन २०७९ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =