कर्णाली सरकार : पाँच मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ, एमालेका शाहले गरे बहिष्कार

हिमाल प्रेस १८ वैशाख २०८१ १५:५५
72
SHARES
कर्णाली सरकार : पाँच मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ, एमालेका शाहले गरे बहिष्कार

सुर्खेत- कर्णाली प्रदेश सरकार गठन भएको तीन सातापछि बल्ल पूर्णता पाएको छ। गत चैत २७ मा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले २१ औ दिनमा मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

मुख्यमन्त्री कँडेलको सिफारिसमा ५ मन्त्री र एक राजमन्त्रीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। जसमा माओवादीका तीन र एमालेबाट दुई मन्त्रीसहित एक राज्यमन्त्री छन्।

माओवादीबाट बिनाविभागिय मन्त्रीका रुपमा रनसिंह परियारले यसअघि नै शपथ लिइसकेका थिए। उनलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। आठ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले चार र एमालेले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिने सहमती भएको थियो।

जसमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावतले पद तथा गोपनियताका शपथ लिएका हुन्।

यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विश्वकर्माले शपथ लिइन्। उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ गराएका हुन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले भने शपथ ग्रहण बहिष्कार गरेका छन्। उनले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नदिएको भन्दै शपथ ग्रहण बहिष्कार गरेका हुन्। आन्तरिक मामिला तथा कानून मन्त्री भने मुख्यमन्त्री कँडेलले आफै राखेका छन्।

प्रकाशित: १८ वैशाख २०८१ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =