हामी स्वदेशका शिक्षण संस्था रित्याउने पक्षमा छैनौँ : प्रकाश पाण्डे [भिडिओसहित]

हिमाल प्रेस १६ फागुन २०८० १६:०७
168
SHARES
हामी स्वदेशका शिक्षण संस्था रित्याउने पक्षमा छैनौँ : प्रकाश पाण्डे [भिडिओसहित]

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष प्रकाश पाण्डेले आफूहरू नेपालका शिक्षण संस्था रित्याउने पक्षमा नरहेको बताएका छन्। पाण्डेले हिमालप्रेसको साप्ताहिक कार्यक्रम ‘एडटक’ मा कुराकानी गर्दै नेपालका शैक्षिक संस्थाले विदेशीस्तरको शिक्षा दिने हो भने पढ्नका लागि विदेश जानु नपर्ने बताए। साथै उनले परामर्शदाताले कुनै विद्यार्थीलाई विदेश पठाउन जबर्जस्ती नगर्ने पनि प्रस्ट पारेकमा छन्। उनले भने, ‘इक्यान नेपाललाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भने उद्घोष गर्ने संस्था हो। हामी नेपालका शिक्षण संस्थालाई रित्याउने पक्षमा छैनौँ।’

पाण्डेले शैक्षिक परामर्शदातालाई म्यानपावरको जस्तो व्यवहार नगर्न पनि आग्रह गरे। उनले भने, ‘विदेशमा अध्यनका लागि गएका विद्यार्थीलाई काम लगाइदिने ग्यारेन्टी परामर्शदाताले गर्न सक्दैन। कानुनी रूपमा पाइने अधिकारबारे मात्रै परामर्शदाताले जानकारी दिन्छ। हामी म्यानपावर एजेन्सी होइनौँ।’ उनले परामर्शदाताले पढ्न पठाएको भन्दा अर्कै शिक्षण संस्था भएमा र पढ्ने वातावरण नरहेमा मात्र आफूहरूलाई दोषी ठहर्‍याउन आग्रह गरे।

पाण्डेले विदेश जान खोजेका विद्यार्थीलाई केके सिकाउने र केकस्ता कुरा जानकारी दिने भनेर इक्यानसँग आचारसंहिता रहेको बताए। साथै परामर्शदाताले दिएको जानकारी सही छ कि छैन भन्ने रुजु गर्ने काम अभिभावक र विद्यार्थी दुवैको रहेको उनको भनाइ छ। ‘परामर्शदातासँग मात्रै पूर्ण रूपमा निर्भर हुनु हुँदैन। विद्यार्थीले पनि आफ्नो भाषिक, शैक्षिक र आर्थिक हैसियतअनुसार बुझ्न सक्छ’, पाण्डेले भने। उनले विद्यार्थीलाई सकेसम्म छात्रवृत्तिमा पढ्न जाने वातावरण बनाउन आग्रह गरे।

कतिपय अभिभावकमा विदेश गएमा सन्तान आफैँले कमाएर पढ्नुपर्ने तर नेपालमा रहँदा जति पनि खर्च गरिदिन सक्ने गलत प्रवृत्ति रहेको बताए। पाण्डेले कुनै पनि परामर्शदाताले विदेश पठाउन जबर्जस्ती नगरेको पनि स्पष्ट पारे। ‘हामीले कसैका घरमा बसेका छोराछोरीलाई तानेर विदेश पढ्न पठाएका छैनौँ। मैले मेरो कार्यालयमा बसेर कोही विदेशमा पढ्न जान चाहनुहुन्छ भने सही जानकारी चाहिन्छ भने आउनुहोस्, चित्त बुझेमा आवेदन दिन सक्छु भनेको छु।’

नेपालका शिक्षण संस्थाहरूले हामी राम्रो शिक्षा दिन्छौँ, अध्ययन गरिसकेपछि यीयी अवसर पाइन्छ, त्यसलाई हामीले उपलब्ध गराउन सक्छौँ नेपालभित्रकै शिक्षण संस्था पनि उत्कृष्ट छन् भन्नेजस्ता विषयमा आमविद्यार्थी र अभिभावकसँग कुराकानी गर्न नसकेको गुनासो पाण्डेको छ।

पढ्नका लागि बहाना बनाएर विदेशमै हराउँछन् भन्ने गलत सोचाइ रहेको पाण्डेको भनाइ छ। ‘विदेश जाने त बहाना मात्रै हो भन्ने सोच राख्छौँ। त्यसमा वास्तविकता छैन।’ विदेशमा अध्ययनका लागि गएकाहरूको पहिलो प्राथमिकता अध्ययन रहेको उनले प्रस्ट पारे। ‘हाम्रो सामान्य बुझाइ त्यहाँ गएर पढेन भने पनि बस्न पाइन्छ भन्ने छ। यो गलत हो। अधिकांशले नपढी सुख पाउँदैनन्’, उनले भने।

नेपालमा चारबर्से स्नातक पढाउन थालेपछि विद्यार्थी बिदेसिने क्रम बढेको उनको बुझाइ छ। उनले प्रश्न गरे, ‘भारत, अस्ट्रेलिया, बेलायतमा तीनबर्से स्नातक पढाउँदा हुने। नेपालचाहिँ कस्तो देश हो हिजो तीनबर्सै पढाउँदा भएको थियो, अहिले चारबर्से बनाउनुपर्‍यो?

नेपालमा सेमेस्टर प्रणालीमा पढाइ भइरहे पनि भर्नाचाहिँ वार्षिक नै रहेको पाण्डेले बताए। सोही कारण नेपालमै रहेका विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजमा बढी विद्यार्थी भर्ना भइरहेका र नेपालकै विश्वविद्यालयका कलेजमा विद्यार्थी कम भर्ना भइरहेको पाण्डेले बताए। नेपालका विश्वविद्यालयले विद्यार्थीको आवश्यकता सम्बोधन गर्न नसकेका गुनासो उनको छ।

हेर्नुस् भिडिओ

प्रकाशित: १६ फागुन २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =