वीरेन्द्रनगरको चौथो नगरसभामा एकीकृत प्रतिवेदन पेस

हिमाल प्रेस २५ माघ २०८० २०:२१
14
SHARES
वीरेन्द्रनगरको चौथो नगरसभामा एकीकृत प्रतिवेदन पेस

सुर्खेत- सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको चौथो नगर सभामा एकीकृत प्रतिवेदन पेस गरेको छ। नगरपालिकाको योजना तथा वातावरण शाखाले आर्थिक वर्ष २०८०/८१ मा हालसम्म गरेका काम र उपलब्धिसहितको एकीकृत प्रतिवेदन सभामा पेस गरेको हो।

विभिन्न शाखाहरू र वडा कार्यालयले गरेका कामहरुको प्रतिवेदनको आधारमा तयार पारेको एकीकृत प्रतिवेदन बिहिबार अर्धवार्षिक समीक्षासहित सभामा प्रस्तुत गरिएको छ। कार्यक्रममा नगरपालिकाको आ.व. २०८०/८१ को कार्यसम्पादनमाथि छलफल गर्दै आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रिया समेत सुरु गर्नेछ।

एकीकृत प्रतिवेदनमा नगरपालिकाका विभिन्न शाखा र वडा कार्यालयबाट भएका मुख्य कार्यसम्पादन र भइरहेका गतिविधिहरु समावेश गरिएको छ। सबै क्षेत्रमा सुधार ल्याउँदै वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको व्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्यका साथ अगामी वर्षमा नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तयार गर्ने जनाएको छ।

नगरपालिकाको चालु आर्थिक वर्षको आम्दानी रकम ३ अर्ब बढी प्रस्तावित भए पनि अर्धवार्षिक अवधिमा १ अर्ब ४७ करोड बढी रकम आम्दानी भइसकेको प्रतिवेदनमा उल्लेख छ। यस्तै अर्धवार्षिक अवधिमा ५ करोड ४९ लाख बढी रकम आन्तरिक राजस्व स्वरुप असुली गरिएको छ।

हालसम्म नगरपालिकाको चालुतर्फ ३८ दशमलब ५५ र पुँजीगततर्फ ११ दशमलब ४१ प्रतिशत वित्तीय प्रगति भएको पालिकाले जनाएको छ। नगर सभामा पेस गरिएको प्रतिवेदनमा सहरी खुल्ला क्षेत्रको सरसफाइका लागि सात जनाको छुट्टै टोली बनाएका नियमित सडक नाला र चौर तथा झाडी सफा गरिएको र प्रकोप नियन्त्रणका लागि १५१ थान जाली सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै ९० प्रतिशत पूर्वाधार योजनाको उपभोक्ता समिति गठन गरिएको र वडा नम्बर १ र २ का ४३ टोलहरुमा रहेका नौ सय पोलमा बत्ती जडान गरिएको उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए। क्षेत्रगत रुपमा हालसम्म १२ किलोमिटर कच्ची सडक मर्मत, तीन किलोमिटर सडक ग्राभेल, दुई किलोमिटर पक्की नाला निर्माण र सडक कालोपत्रे तथा आरसीसी एक किलोमिटर निर्माण गरेको नगर सभामा उपप्रमुख खनालले जानकारी गराए।

चालु आर्थिक वर्षको हालसम्म नक्सा दर्ता ४५९, आंशिक नक्सापास ३४२, पूर्ण नक्सा पास ३९१ निर्माण सम्पन्न प्रमणपत्र ३८१ वटा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ। बिहीबारबाट सुरु भएको नगर सभामा विधायन समितिका संयोजक यामुना नेपालीले स्थानीय वन विधेयक २०८०, लैंगिक समानता अपांग सामाजिक समावेशीकरण विधेयक, वस्ती विकास तथा जग्गा एकीकरण विधेक, नगर शिक्षा ऐन-२०७४ पहिलो संशोधन र कृषि प्रवर्द्धन ऐन २०८० विधेक टेबल गरेकी छिन्। नगर सभामा पेस गरिएका प्रतिवेदन तथा विधेयकमा दफावार छलफल गर्ने र सार्वजिनक महत्त्वका विषयहरूमाथि उठेका सबालमा नगर प्रमुख ढकालले जवाफ दिने कार्यतालिकामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =