वीरेन्द्रनगरका स्थानीयको पीडा- इनारमा पानी आउँदैन, बोरिङ खन्‍न पैसा छैन

हिमाल प्रेस ६ असार २०८० १३:५३
4
SHARES
वीरेन्द्रनगरका स्थानीयको पीडा- इनारमा पानी आउँदैन, बोरिङ खन्‍न पैसा छैन फाइल तस्बिर।

सुर्खेत– ‘इनार खन्यो पानी आउँदैन। बोरिङ खन्ने पैसा छैन। २ सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ। अरू स्रोत छैन। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो ?,’

वीरेन्द्रनगर-१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमालले एकै स्वरमा आफ्ना दुखेसो पोख्नुहुन्छ। विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ।

बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एक गाग्री पानी भर्न दिउँसो ३ बजे पालो आउँछ। सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एक गाग्री पानी भरिन आधा घण्टा लाग्छ।

वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन। प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।

पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्छिन्।

विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। कारण, खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ।

पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ।

‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु,’ उनले भनिन्।

गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उनको भनाइ छ। प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।

वीरेन्द्रनगरका वडा १ देखि १२ सम्म खानेपानीको समस्या छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोर उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताए।

भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ। संघीय सरकारले अघिल्लो वर्ष २ करोड र गत आर्थिक वर्ष ६ करोड छुट्याएको थियो।

‘वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकामा पनि खानेपानीको समस्या छ। समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन्,’ उनले भने।

भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ। संघीय सरकारले अघिल्लो वर्ष २ करोड र गत आर्थिक वर्ष ६ करोड छुट्याएको थियो।

गत वर्ष प्रदेश सरकारले छुट्याएको ५० करोड कामै नभई फिर्ता गएको थियो। गर्मी समय सुरु भएसँगै कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिक अहिले खानेपानीको चरम अभावमा छन्। बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन्।

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन।

वीरेन्द्रनगर-९ मा धारामा १५-१६ दिनमा एक घण्टामात्र पानी आउने गरेको छ। कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीयवासी विनोद गुरुङको भनाइ छ।

गाउँको एउटा कुवाले १/२ टोललाई जेनतेन धानेको छ। वडाले खानेपानीको समस्या समाधान गर्न २ वटा डिप बोरिङ खनेको थियो।

वीरेन्द्रनगरमा १ सय २० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ। उपभोक्ता भने तालिकाअनुसार पानी नआएको दाबी गर्छन्।

ती बोरिङसमेत सञ्चालनमा आउन सकेका छैनन्। वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स-साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष कृषि गिरीले बताए।

‘अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ प्रयोगमा छैनन्। एउटा नयाँ बोरिङ सञ्चालनमा ल्याउँदैछौं,’ उनले भने।

वीरेन्द्रनगरमा १ सय २० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ। उपभोक्ता भने तालिकाअनुसार पानी नआएको दाबी गर्छन्।

जनसंख्याले वृद्धिले थप समस्या

प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ। अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ। मागअनुसार खानेपानी पुर्‍याउन नसकिएको उनको भनाइ छ। मुहानमै पानी सुक्दै गएकाले ५ दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ। प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ।’

वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट १ सय ५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिए। यी पानीका स्रोतको पनि अपुग भएपछि ५ दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसंख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए।

उक्त जनसंख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २ सय ७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो। संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट एक सय २८ लिटर प्रतिसेकेन्ड पानीमात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो।

हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएकामा यस वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ। अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो।

विकल्प खोज्दै भेरी नदीतिर

वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ। दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउन विश्व बैंक, नेपाल सरकार र नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यही असारसम्म बोलपत्र आह्वान गरिने नगरपालिकाले जनाएको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भइसकेको छ। २ चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार रुपैयाँ बराबरको बजेट सुनिश्चित भइसकेको छ।

आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ। यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ। बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप-निर्देशक मधुसूधन खनालको भनाइ छ।

०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो। ३ दशकपछिको जनसंख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ आयोजना अघि बढाइएको छ। ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको पानी प्रशोधन केन्द्र लेकबेंसी नगरपालिकाको वन क्षेत्रमा राखिने जनाइएको छ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन मस्यौदा गरेको छ। आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिका लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नु पर्नेछ।

आयोजनाको पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्यांकी बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ। आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका-११, अमृत डाँडामा पानी ल्याउने छ। पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, भण्डारण ट्यांकी निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउन विश्व बैंक, नेपाल सरकार र नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौताअनुसार यही असारसम्म बोलपत्र आह्वान गरिने बताइएको छ।

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत-जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ। भेरीको पानी ४ सय मिटर उचाइमा प्रशोधन ट्यांकी (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ।

करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने भण्डारण ट्यांकीमा पानी खसालिने र ५ सय ५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्यांकीसम्म ल्याइने बताइएको छ।

अमृत डाँडामा रहने ट्यांकी १२ हजार घनमिटरको हुनेछ। आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसंख्या लाभान्वित हुनेछन्। -रासस

प्रकाशित: ६ असार २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =