स्थानीय सरकारको एक वर्ष

पूर्वाधार निर्माणमा सक्रिय वीरेन्द्रनगर

रमा केसी २२ जेठ २०८० ६:४३
28
SHARES
पूर्वाधार निर्माणमा सक्रिय वीरेन्द्रनगर

सुर्खेत- सुर्खेत नगरपालिका एक वर्षको अवधिमा भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएको छ। विकास निर्माणका आयोजनामा संघ तथा प्रदेशसँग समन्वय गरेर अघि बढ्दा सजिलो भएको जनप्रतिनिधिहरू बताउँछन्। पूर्वाधार निर्माणका साथै स्वास्थ्य र शिक्षा नगरपालिकाले प्राथमिकतामा राखेका अन्य विकासका योजना हुन्।

‘पूर्वाधारतर्फका सबै काम सम्पन्न गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय भइरहेको छ’, नगर प्रमुख मोहनमाया ढकाल भन्छिन्। प्राप्त योजना र विगतमा सम्पन्न हुन नसकेका योजना पनि सोहीअनुसार कार्यान्वयन भइरहेको छ। यसबाट विकासका काम व्यवस्थित भएको नगरपालिकाको दाबी छ।

स्थानीय तहको निर्वाचन भएको एक वर्षमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले करिब एक अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। नगरपालिकाले एक वर्षको अवधिमा भौतिक पुर्वाधार विकास र सुशासनतर्फ यो रकम खर्च गरेको हो छ। नगरपालिकाका लागि कुल बजेट १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँ छुट्याइएको थियो।

स्थानीय सरकारले वीरेन्द्रनगरको मुख्य बजार र त्यस आसपासका सार्वजनिक महत्त्व राख्ने सडक निर्माणमा तीव्रता दिइरहेको छ। नगरपालिका र नेपाल सरकारको सघन सहरी योजनाअन्तर्गत उपत्यकाको योजना क्षेत्रका सडक कालो पत्रे गर्ने गरी काम भइरहेको ढकालले बताइन्।

‘चक्रपथ निर्माणलाई तीव्रताका साथ अघि बढाएका छौँ,’ उनले भनिन्, ‘नगरको वडा नं. १ देखि ४ सम्म चक्रपथ निर्माण भइरहेको छ।’

खानेपानी समस्या समाधान गर्न भेरी पम्पिङ आयोजना सञ्चालन भइरहेको छ। उक्त आयोजना विश्व बैंक, नेपाल सरकार, खानेपानी तथा ढल व्यवस्थापन विभाग र वीरेन्द्रनगर नगरपालिकाबीच सम्झौता भएर निर्माण भइरहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई असार मसान्तभित्र ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी नगरपालिकाको छ।

अव्यवस्थित बसोबास, सुकुमबासी भूमिहीनलाई व्यवस्थापन गरिएको छ। केही वर्षमै सुकुमबासी समस्या समाधान हुने गरी काम भइरहेको ढकाल बताउँछिन्। वित्तीय सुशासन कायम गराउन पनि वीरेन्द्रनगर नगरपालिका सक्रिय छ।

शिक्षातर्फ १० वर्षे शौक्षिक रणनीति तयार गरेर अबको १० वर्षमा कर्णाली प्रदेशकै नमुना विद्यालय बनाउने गरी प्रत्येक वडामा भएका आधारभूत, प्राथामिक र माध्यमिक तहका विद्यालयमा भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक गुणस्तरलाई महत्त्वका साथ अघि बढाइएको छ।

नगरपालिकाको स्वास्थ्य सेवालाई सहज बनाउनका लागि १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालन गरिएको नगरप्रमुख ढकालको भनाइ छ। नगर अस्पतालमा महिला तथा बालबालिकाका लागि पाँच शय्याको अत्याधुनिक सुविधासहितको बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ।

अव्यवस्थित छाडा चौपाया गौशाला निर्माण गरी व्यवस्थापन गर्ने गरिएको ढकाल बताउँछिन्। फोहोरमैला व्यवस्थापन, दिसाजन्य लेदो व्यवस्थापन र हरियाली व्यवस्थापनमा पनि नगरपालिकाले महत्त्व दिइरहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई प्राथमिकतामा राखेको नगरप्रमुख ढकालले बताइन्।

बढ्दो सहरीकरणलाई दृष्टिगत गर्दै ढल व्यवस्थापन, उत्तरी जल संरक्षण, दक्षिण निकासा व्यवस्थापन र नगरपालिकासँग भएको ल्याड फिल्ड साइट पूर्ण रूपमा निमाण गर्न प्रदेश सरकारको सहयोग हुनुपर्ने उनको भनाइ छ।

वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ का अध्यक्ष दिनेश खत्रीले भौतिक विकास नातावाद, कृपावाद, दलीय प्रभाव र पहुँचको भरमा हुने भएकाले काममा केही प्रभाव पर्ने बताए। आफ्नो वडामा जनमैत्री ढंगले विकास निर्माणका काम भइरहेको उनबले दाबी गरे।

अध्यक्ष खत्रीले चालु आर्थिक वर्ष २०७९/०८० मा एक करोड ५० लाख आएको बजेटमध्ये २० प्रतिशत रकम खर्च गर्न बाँकी रहेको बताए। वीरेन्द्रनगर– १ ले भौतिक विकासका लागि नयाँ रिङ रोड, बाटोमा ग्राभेल र कालो पत्रे गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छ। वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी उत्तम आचार्यले धमाधम भौतिक निर्माणका काम भइरहेको बताए।

बरालिएका स्थानीय सरकार

प्रकाशित: २२ जेठ २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =