महोत्तरी- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाबारे प्रशासनिक निकायहरूबाट रिपोर्टिङ गर्दै आवश्यक निर्देशन दिएका छन्।
आज महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समिक्षा कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई ब्रिफिङ गरेका थिए।
रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कडा कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए।
त्यसक्रममा संघीय सरकार प्रदेश प्रहरी समायोजनको प्रक्रियामा रहेको उनले बताए। धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्कन नदिन र साम्प्रदायिक गतिविधिलाई प्रशासनिक बिधिबाटै नियन्त्रण गर्न उनले प्रशासनिक र सुरक्षा निकायलाई निर्देशन दिए।
सीमामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अवैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको गृहमन्त्री श्रेष्ठले बताए।
मिटरब्याजीको नाममा कुनै विचौलिया देखिए ध्यान दिएर कारबाहीमा गर्न समेत उनले निर्देशन दिए।