विदेशमा श्रम गर्न गएका ६५६ नेपालीको मृत्यु, ३०७ अंगभंग भएर फर्किए

हिमाल प्रेस २३ माघ २०८० ११:०५
10
SHARES
विदेशमा श्रम गर्न गएका ६५६ नेपालीको मृत्यु, ३०७ अंगभंग भएर फर्किए इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्षको साउनदेखि पुससम्म वैदेशिक रोजगारीमा गएका ६ सय ५६ नेपालीको मृत्यु भएको छ। यस अवधिमा तीन सय सातजना अंगभंग र बिरामी भएर स्वदेश फर्किएका छन्।

वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्यांकअनुसार ६ महिनामा तीन लाख ५० हजार नेपाली कामका लागि विभिन्न देशमा पुगेका छन्। वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा विदेशी भूमिमा नेपालीले ज्यान गुमाइरहेको बोर्डकै एक अध्ययनमा उल्लेख छ।

गत आवको साउनदेखि पुससम्म ६ सय १५ श्रमिकको मृत्यु भएको थियो भने ११५ श्रमिक अंगभंग भएका थिए। गत आवको सो अवधिमा आर्थिक सहायताका लागि ३५ करोड ४२ लाख वितरण गरिएको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा मृत्यु र अंगभग भएर आर्थिक सहायता लिने श्रमिकको संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको छ। बोर्डले चालु आवको ६ महिनामा विभिन्न ६ शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपैयाँ काल्याणकारी कार्यमा खर्च गरेको छ। यसमध्ये सबैभन्दा बढी ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ।

गत आर्थिक वर्षमा बिरामी भएर ४६६, प्राकृतिक मृत्यु २३६, सडक दुर्घटना १३५, आत्महत्या १०५, हृदयाघात ९४, पहिचान नखुलेका ६१, कार्यस्थल दुर्घटना ५२ र अन्य १ सय १७ जनाको मृत्यु भएको छ।

गत आवमा सबैभन्दा बढी मलेसियामा मृत्यु भएको थियो। यस वर्ष मलेसियामा ४११, साउदी अरबमा ३८९, कतारमा २९४, यूएईमा २०६, कुवेतमा ६५, कोरियामा १६ र अन्य देशमा ९८ जनाको मृत्यु भएको बोर्डले जनाएको छ।

गत आवमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार ४३३ श्रमिकका आफन्तले ८३ करोड ६० लाख आर्थिक सहायता लिएका थिए। हाल बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्तिबापत ७ लाख रुपैयाँ उलब्ध गराउँदै आएको छ। मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको छ।

आगामी आर्थिक वर्षदेखि बोर्डले आर्थिक सहायता रकम १० पुर्‍याउने तयारी समेत गरेको छ। हाल बोर्डले सबै काम अनलाइनमार्फत गर्दै आएको छ। बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्फत गरेपछि सेवाग्राही संख्यासँगै सहयोग रकम पनि बढेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए।

उनका अनुसार स्थानीय तह र प्रदेशस्तरमा वैदेशिक रोजगारीमा हुने मृत्यु र अंगभंग हुनेले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको संख्या बढेको हो।

प्रकाशित: २३ माघ २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =