सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिबाना

हिमाल प्रेस २१ माघ २०८० १९:०८
10
SHARES
सिभिल सहकारी ठगी प्रकरण :  इच्छाराज तामाङलाई तीन वर्ष कैद, १ अर्ब ७२ करोड जरिबाना

काठमाडौँ- सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङविरुद्ध तीन वर्ष कैदको सजाय निर्धारण भएको छ। विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो बमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना गर्ने फैसला सुनाएको हो।

विशेष अदालतले सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर गरेको थियो। दोषी ठहर भए पनि कैद र बिगोका लागि आज (आइतबार) पेसी तोकिएको थियो। अदालतले ३ वर्षभन्दा माथि सजाय गर्नुपर्ने भएकाले आज बहस गरेर सजाय सुनाएको हो।

त्यस्तै तामाङकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिबाना हुने फैसला सुनाएको छ। अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ।

त्यस्तै प्रतिवादी इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ। प्रतिवादीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने फैसलामा भनिएको छ।

विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङ सहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको थियो।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुनः अर्को पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार आजका लागि पेसी तोकिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ। यस्तै तामाङकी श्रीमती श्रृजना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

तामाङका छोरीहरू प्रतीक्षासँग ६ करोड २२ लाख र प्रतीशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठको २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ।

पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

प्रकाशित: २१ माघ २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =