जंगली हात्तीबाट जोगिन बस्तीनजिकै ६ फिटको खाडल

विवेक विवश रेग्मी १९ माघ २०८० १२:४७
10
SHARES
जंगली हात्तीबाट जोगिन बस्तीनजिकै ६ फिटको खाडल

इटहरी- इटहरीमा दैनिकजसो हात्तीका बथान मानव बस्तीमा पस्ने संकेत देखिएपछि त्यसबाट बच्न खाडल खन्न सुरु गरिएको छ। इटहरी उपमहानगरपालिका-२ शान्तिनगरमा दैनिकजसो दुई दर्जन बढी हात्तीको संख्या आउने गरेको छ। हात्ती आउन नदिन बस्ती नजिकै खाडल खन्न सुरु गरिएको हो।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसँग समन्वय गरी उपमहानगरकै जेसीभीले खाडल खन्ने काम भइरहेको स्थानीय रोशन अधिकारीले बताए। उनका अनुसार इटहरी-धरान सडकखण्डको तरहरास्थित पानीपियादेखि इटहरी-२ प्रवेश गर्ने हात्तीचोकसम्म क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालयको जमिनमा पर्ने क्षेत्रमा ६ फिट गहिरो खाडल खन्न सुरु गरिएको हो।

यसैगरी हात्ती चोकपूर्व सेरा खोलासम्मको क्षेत्रमा पमहानगरपालिकाको सहयोगमा धमाधम खाडल खन्ने काम भइरहेको अधिकारीले बताए। ‘हात्ती मानव बस्तीमा प्रवेश गर्न नदिन उपमहानगरसँगको समन्वयमा खाडल खन्न थालेका हौँ,’ अधिकारीले भने, ‘दिउँसो पनि बस्ती नजिकैको जंगलमै हात्री रहने भएकाले मानवीय क्षति हुन नदिन सचेतसमेत गराइएको छ।’

उनका अनुसार केही दिनअघि २९ वटा हात्ती आएका थिए। त्यसमा केही छावासमेत थिए। हात्तीबाट धनजनको क्षति हुन नदिनका लागि खाडल खन्न बाध्य भएको स्थानीयको भनाइ छ। पछिल्लोपटक १८ दिनयता दैनिक रात र बिहानको समयमा हात्तीका बथान मानव बस्तीमा पस्ने प्रयास भइरहेको स्थानीयले बताए।

उनीहरूका अनुसार हाल आलोपालो गरी रातभर जाग्राम बसेर, दाउरा बालेर, साइरन बजाएर हात्ती धपाउने काम भइरहेको छ। साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पानीपियादेखि हात्तीचोक सडकखण्डमा प्रवेश निषेध गरिएको स्थानीय ध्रुव नेपालले बताए। हात्तीले सताएपछि साँझ ६ बजेदेखि बिहान ६ बजे सम्म प्रवेश निषेध गरिएको उनको भनाइ छ।

दुई खण्डमा ढाट लगाएर नेपाल प्रहरी, वन रक्षक तथा नगर प्रहरीसमेत परिचालन गरिएको छ।  दुई महिनायता हात्तीबाट प्रताडित बन्दै आएका स्थानीयले दीर्घकालीन समाधान गरिदिन प्रशासनसमक्ष अनुरोध गरेका छन्।

कोशी प्रदेश सरकारले भने हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउने भएको छ। यसका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गर्ने भएको छ। हात्तीको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको ‘स्याटेलाइट म्यापिङ’ गरी हात्ती करिडोर निर्माण गर्न यस्तो प्रयास गर्न लागिएको हो।

मन्त्रालयले हात्ती-मानव द्वन्द्व न्यूनीकरण गर्न हात्ती करिडोरको अध्ययन गरी त्यसको सिमाना पहिचान गर्ने र व्यवस्थापनका लागि रणनीति तर्जुमा गर्ने भएको छ।

झापाको जलथल क्षेत्रमा पर्ने जंगलमा दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन्। भारततिरबाट प्रवेश गर्ने हात्तीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा क्षति पुर्‍याउने गरेका छन्।

सुनसरीको बराहक्षेत्र, इटहरी, मोरङको बेलबारी, खानेपोखरी, सुन्दरहरैँचा, झापाको बुद्धशान्ति, दमकलगायतका क्षेत्रमा जंगली हात्तीले क्षति गर्दै आएको छ। विगत केही महिनाको अवधिमा जंगली हात्तीको आक्रमणबाट काशी प्रदेशमा १२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। हात्ती आक्रमणबाट मानिसको मृत्यु हुन नदिन र धनको क्षति हुन नदिन प्रशासनले चासो दिनुपर्ने पीडितहरूको माग छ।

प्रकाशित: १९ माघ २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =