प्रहरी-कर्मचारी कुटपिट प्रकरण : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

हिमाल प्रेस १८ माघ २०८० १२:०३
10.0k
SHARES
प्रहरी-कर्मचारी कुटपिट प्रकरण  : डीएसपीसहित चार प्रहरीलाई विभागीय कारबाहीको तयारी

काठमाडौँ- गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन अधिकृतबीच कुटाकुट भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जाँच गर्नेक्रममा अटेर गरेका अध्यागमन अधिकृतले प्रहरीलाई हात लगाएपछि कुटपिट सुरु भएको देखिन्छ।
उक्त घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति नै बनाएको थियो। समितिले कुटपिटमा संलग्न प्रहरी र अध्यागमनका कर्मचारीहरूसँग बयान लिएर बुधबार प्रतिवेदन पनि बुझाइसकेको छ।

माघ १२ मा गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए। समितिमा गौतमका साथै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए।

उक्त समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरेको छ। डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई कारबाहीको सिफारिस गरिएको हो। उनीहरूले आफ्नो जिम्मेवारी भुलेर हातपातमा उत्रिएको समितिले ठहर गरेको छ।

कुटाइ खाने अध्यागमन अधिकृत हुन् छायालाल मोक्तान। उनीमाथि कुटपिट गर्ने असई हुन् सञ्जय तामाङ। उनलाई निलम्बन नै गर्न सिफारिस गरिएको छ। खानतलासी गर्न नदिए अधिकृतमाथि कानुनबमोजिम अरु कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिट गरेको पाइएको समितिले भनेको छ। त्यस्तै असईले अधिकृतलाई कुटपिट गरेको बेला घटना हुन नदिने काम गर्नुपर्नेमा उल्टै अधिकृतमाथि जाइलागेको भन्दै जवानद्वय गुप्ता र महतोलाई विभागीय कारबाहीको लागि सिफारिस गरिएको छ।

अधिकृत मोक्तानलाई पनि कारबाहीको लागि समितिले सिफारिस गरेको छ। खानतलासी गर्न पाउने अधिकार प्रहरीसँग भएको र उनले खानतसाली गर्न नदिई विवाद गरेको समितिको ठहर छ। समितिले मोक्तानको आचारसम्बन्धी समस्या भएको र तत्कालै जिम्मेवारीबाट हटाएर मन्त्रालय तानेर कारबाही अघि बढाउनुपर्ने भनेको छ।

प्रकाशित: १८ माघ २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =