दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’

हिमाल प्रेस १४ माघ २०८० ११:३३
18
SHARES
दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’

काठमाडौँ– साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा काठमाडौँको सर्वनाम थियटरमा कृतिको लोकार्पण गरिएको हो।

पुस्तकमा ६६ वटा लघुकथा समावेश गरिएको लेखक समीपले बताए। साहित्यकार समीपको यो तेस्रो कृति हो। यसअघि समीपले गजलसङ्ग्रह ‘भूगोलभित्र नकोरिएको देश’ (२०६२) र मुक्तकसङ्ग्रह ‘अक्षर अक्षरमा देश’ (२०७८) प्रकाशित गरिसकेका छन्। लेखक समीपले कार्यक्रममा पचासको दशकको सुरुवातदेखि तीन दशकसम्मको साहित्य लेखनका अनुभव र अनुभूति प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै कुलपति राईले साहित्यकारहरूले सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामर्थ्य राख्ने बताए। मान्छेको जीवन आफैँमा कथैकथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने उनको बुझाई थियो।

राज्यको उत्पत्तिपछि भाषा राज्यको र जनताको गरी दुई भागमा बाँडिएको उनको भनाई थियो। वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको र जनताका कथा हराएकोमा कुलपति राईले दुःख व्यक्त गरे।

अब कथाकारहरूले लेखिन बाँकी कथाहरू लेख्नतिर लाग्नुपर्नेमा उनले जोड दिए। साथै साहित्यिक कार्यक्रमहरू पाठक केन्द्रित बनाइनुपर्ने र एआईसँग जुध्नुपर्ने र वर्तमान यथार्थतिर अब सचेततापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको ओैँल्याएँ।

समीक्षक ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकार राईले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन्।

‘लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन्।’ उनले भनिन्। ‘शब्दको जादू लेखकले यसरी चलाएका छन् कि एक एक लघुकथाले तरङ्गित बनाउन सक्षम छन्।’

कथामा मानव मनोविज्ञान बडो नाटकीय र प्रभावकारी तबरले प्रस्तुत गरिएको छ। पुस्तकमा शब्दको मीतव्ययितामा कथाकारले निकै ध्यान दिएको समीक्षक अधिकारीले बताइन्।

त्यस्तै अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले कृतिमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए। कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीको बताए।

‘कथाकारले कृतिमा वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य छर्लङ्ग पारेका छन्। साथै विविध पात्रका माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन्।’ उनले भने।

मानव जीवनका सन्त्रास, जीजिविषा, अन्धविश्वास, आस्तिकता एवम् लैङ्गिक विसङ्गतिको चित्र मर्मस्पर्शी ढङ्गले कथामा उनिएको ईश्वरमणिको बुझाई थियो। उनले समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामर्थ्य रहेको बताउँदै पुस्तकमा अवचेतन र चेतन मनको उद्घाटन कुशल शैलीले गरेको उल्लेख गरे। पुस्तकमा कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिए।

कार्यक्रममा स्वागत गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुक्कले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे।

साहित्यकार भुवनहरि सिग्देलले समीपको सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने क्षमताको मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =