आहा रारा पोखरा गोल्डकप : आयोजकलाई हराउँदै थ्री स्टार क्वाटरफाइनलमा

हिमाल प्रेस ९ माघ २०८० १८:४५
12
SHARES
आहा रारा पोखरा गोल्डकप : आयोजकलाई हराउँदै थ्री स्टार क्वाटरफाइनलमा

पोखरा- थ्री स्टार क्लब २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आयोजक सहारा क्लब पोखरालाई मंगलबार उद्घाटन खेलमा २–१ गोलअन्तरले पराजित गर्दै पाँचौं पटकसम्मको विजेता थ्री स्टार क्वाटरफाइनल पुगेको हो।

थ्री स्टारले खेलको छैटौं मिनेटमै अग्रता लिएकोमा २३ औं मिनेटमा गोल फर्काउँदै सहारा बराबरी खेलेको थियो। दोस्रो हाफमा थ्री स्टारले गोल थप्दै विजयी सुनिश्चित गरेको हो। अब थ्री स्टारले १३ माघमा हुने पहिलो क्वाटरफाइनलमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

डि बक्समा रहेका कप्तान योगेश गुरुङले रिबाउन्डबाट प्राप्त बल सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनी म्यान अफ दि म्याच घोषित भए।

सहाराका लागि आशीष गुरुङले हेडमार्फत गोल गर्दै बराबरी खेलेका थिए। लक्ष्मण रुचालको फ्रिकिकमा उनले बललाई पोस्टको दिशा दिँदा सहाराका समर्थकले हुटिङ गरेका थिए। पहिलो हाफ १–१ गोलमा सकिएकोमा ५९ औं मिनेटमा थ्री स्टारले एञ्जल महर्जनको गोलमार्फत पुनः अग्रता लियो। महर्जनको लामो फ्रिकिक प्रहार सिधैँ गोलपोस्टमा छिरेको हो।

बुधबार राइजिङ स्टार फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। २० माघसम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका छन्।

जसमा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्री स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन्।

विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन्। प्रिक्वाटर विजेता र पराजित दुवै टिमलाई २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टिमलाई ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ। विधागततर्फ समेत पुरस्कार व्यवस्था छ।

यसैबीच, सहाराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गरेको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनलाई नगद ५० हजारसहित सम्मान गरे। कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष एवं क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङको यो पुरस्कारको प्रायोजन गरेका हुन्। २०७४ सालदेखि हालसम्म भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सम्मानित भइसकेका छन्।

प्रतियोगिता उद्घाटन गर्दै मेयर आचार्यले खेलका कारण राष्ट्रको पहिचान दिलाउन सक्ने जनाउँदै आहा रारा पोखरा गोल्डकपको महत्व पनि उत्तिकै रहेको बताए। उनले महानगरको कार्यपालिका बैठकले निर्णय गरी यस वर्षदेखि महानगर संरक्षक बन्ने निर्णय गरेको बताए। यसैबीच, पृथ्वी राजमार्ग बस संचालक कम्पनीले सहारालाई ३ लाख सहयोग गरेको छ।

क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्चिने भएकोले प्रतियोगिता सफल पार्न सबैसँग आग्रह गरे। प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो।

प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। बचत रकम सहारा एकेडेमीमा खर्च गरिने छ। पोखराको दोबिल्लामा संचालित एकेडेमीमा हाल चौथो व्याचमा ८ जिल्लाका १४ जना बालक आश्रित छन्।

प्रकाशित: ९ माघ २०८० १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =