कोशीमा मौन अवधिअघि एमाले र राप्रपाबीच गठबन्धन

विवेक विवश रेग्मी ९ माघ २०८० १०:०६
28
SHARES
कोशीमा मौन अवधिअघि एमाले र राप्रपाबीच गठबन्धन

इटहरी- ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच गठबन्धन हुने भएको छ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाबीच एक पत्रअनुसार सहमति भएको हो। सहमतिअनुसार एमालेबाट महिला उम्मेदवार रहेकी रुक्मिणी कोइराला र अन्य तर्फका उम्मेदवार बनेका राप्रपाका उद्धव पौडेललाई एक-अर्कामा मतदान गर्ने सहमति भएका हो। उनीहरू एमाले-राप्रपा गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन्।

दुई दलबीच सोमबार राति राष्ट्रियसभामा गठबन्धन गर्ने सहमति भएको हो। सोमबार राति १२ बजेदेखि नै राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ।

उक्त सहमतिपछि यसअघि एमालेबाट अन्य पुरुष तर्फमा उम्मेदवार पर्शुराम अधिकारी ‘ब्याक’ भएका छन्। एकअर्काबीच सहमति भएपनि कोशीमा सत्ता गठबन्धनको मतभार बढी छ । मतभार बढी भएका कारण दुवै दलका उम्मेदवारलाई जित निकाल्न सकस पर्ने आकडा देखिन्छ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार निर्वाचन जित्नेगरी तालमेल भएको बताए। उनले भने, ‘निर्वाचन जितिन्छ भन्ने भएरै तालमेल गरिएको हो।’

अघिल्लो मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पनि एमाले-राप्रपाबीच तालमेल भएको थियो। त्यो तालमेलका आधारमा एमाले नेतृत्वमा प्रदेश सरकार बनाउन राप्रपाले साथ दिएको थियो। एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री हुँदा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला मन्त्रीसमेत बनेका थिए।

कोशीमा एमाले र राप्रपाबीच राष्ट्रियसभा निर्वाचनका लागि भएको सहमतिपत्र।

कोशीमा विभिन्न पटक किचलो हुँदा सभामुख पद रिक्त थियो। तर, केही दिनअघि मात्रै सत्तारुढ गठबन्धनसहितका दलको साथमा राप्रपाका अम्बरबहादुर विष्ट सभामुख बनेका छन्।सभामुखको विषयलाई लिएर एमाले-राप्रपाबीच देखिएको खटपट यससँगै टुंगिएको छ।

कोशीमा सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन्। राष्ट्रियसभाका लागि कोशी प्रदेशका ९३ सांसद र प्रदेशभर रहेका एक सय ३७ पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ।

कोशी प्रदेशमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन्। तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन्। प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ। स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार कोशीमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मत रहेको छ।
कांग्रेस एक्लैको ३ हजार ६ सय ८४, माओवादी केन्द्रको १ हजार २ सय ७८, नेकपा एकीकृत समाजवादीको ३ सय ४५ र जसपाको १ सय २९ मतभार छ।

एमालेसँग ४ हजार २ सय ४८ मतभार रहेको छ। सत्ता गठबन्धन र एमालेसँग पनि नरहेको राप्रपासँग ३ सय ९४ मतभार छ। यस्तै, स्वतन्त्रहरूको ५७ मत छ। कोशीमा एमाले र राप्रपाबीच गठबन्धन भएपनि सत्ता गठबन्धनकै पक्षमा मतभार रहेको बताउँछन्, कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा।

उनले एमाले र राप्रपाबीच गठबन्धन भएपनि सत्ता गठबन्धनसँगै मतभार धेरै देखिएका कारण आफूहरूकै पक्षमा नतिजा रहेको बताए। उनले पार्टी र गठबन्धन एक रहेकोसमेत दाबी गरे।

‘कोशी प्रदेशको सवालमा एमाले र राप्रपाबीच गठबन्धन वा तालमेल जे भएपनि सत्ता गठबन्धनसँग मतभार बढी छ,’ उनले हिमाल प्रेससँग भने, ‘सत्ता गठबन्धन र कांग्रेस एकढिक्का भएर चुनावमा होमिदैँछ। त्यसकारण पनि हाम्रै पक्षमा नजिता आउने निश्चित छ । हामी नतिजाको पर्खाइमा मात्रै छौँ।’

उनले निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सबै जिल्लामा मतदानका लागि ‘सर्कुलर’ जारी गरेको बताए। गठबन्धनभित्र कुनै समस्या नरहेको र शंका, आशंका नगर्न उनको आग्रह थियो।

आगामी २० फागुनमा वर्तमान राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ। कार्यकाल सकिन ३५ दिन बाँकी रहँदै राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: ९ माघ २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =