कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान

हिमाल प्रेस ६ माघ २०८० १०:४४
4
SHARES
कोशीमा ‘अनुशासित चालक, सुरक्षित सडक’ अभियान

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ‘अनुसाशित चालक, सुरक्षित सडक अभियान’ सुरु गरेका छन्।

प्रदेश सरकारले मोरङ र झापाबाट ‘अनुसाशित चालक, सुरक्षित सडक’ अभियानको सुरूवात गरेको हो । मुख्यमन्त्री कार्कीले विराटनगरस्थित रानी र नेमुवामा कार्यक्रम आयोजना गरी उक्त अभियान सुरु गरेका छन्।

कोशी प्रदेशभरिका सवारी चालकहरूको लागूऔषध तथा मादक पदार्थ सेवनका साथै आखा जाँच अभियान सुरु गरिएको हो। ‘यो अभियानले नागरिकको जीवन बचाउ अभियानका रूपमा सुरु गरेका छौं,’ उनले भने, ‘बिना कारण सवारी दुर्घटनाबाट प्रदेशमा धेरैले अकालमा ज्यान गुमाइरहनुका साथै घाइतेको तथ्यांक पनि बढिरहेकाले सरकार गम्भीर भएर यो अभियान सुरु गरेको हो।’

मुख्यमन्त्री कार्कीले सडकमा यात्रा गर्दा अनुसाशित भएर नियमको पालना गर्न प्रदेशबासीलाई आग्रह गरेका छन्। ‘हामीले अस्पताल गएर उपचार गराउने भन्दा पनि अस्पताल नै जाने अवस्था कसरी अन्त्य गर्नु भन्ने तर्फ जानू पर्दछ,’ उनले भने, ‘लापसे र मापसेले ज्यान गुम्छ त्यसैले यसको नियन्त्रणका लागि हामीले नागरिकको ज्यान जोगाउने अभियान सुरु गरेका हौँ।’

लागूपदार्थ तथा मादकपदार्थ सेवन गरेको नगरेको जाँच गर्ने किट हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले चेकजाँच कार्य नियमित गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिएका छन्। ‘कानुन दण्ड गर्ने माध्यम मात्रै होइन, यो अनुसाशन सिकाउने माध्यम पनि हो,’ उनले भने, ‘हामीले कानुनलाई दण्डको रूपमा मात्र लिनु हुन्न, यसको पालना गर्न सकिएमा समाज सभ्य बन्छ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सडक, चालकका साथै नागरिकको सुरक्षाका लागि प्रदेशभरि सडक सुरक्षा अभियान सुरु गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले बताए।

कोशी प्रदेशमा दैनिक औसत ८ वटा दुर्घटनाको घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ। जसमा सरदर एक जनाले ज्यान गुमाउनुका साथै २ जना गम्भीर घाइते र १० जना सामान्य घाइते हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ६ माघ २०८० १०:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =