वैदिक अनुसन्धान समितिले थाल्यो तपोवन स्थापनाको प्रक्रिया

हिमाल प्रेस २९ पुष २०८० १५:३२
536
SHARES
वैदिक अनुसन्धान समितिले थाल्यो तपोवन स्थापनाको प्रक्रिया

काभ्रे- वैदिक अनुसन्धान समितिले तपोवन स्थापनाका लागि प्रक्रिया अघि बढाएको छ। समितिको दसौँ साधारणसभाले वैदिक तपोवन स्थापना गर्ने निर्णय गरेको हो।

तपोवनमा आश्रमवासीका लागि चाहिने खाद्यान्न उत्पादन हुने जमिन आवश्यक पर्ने अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए। उनले सोहीअनुसारको जग्गा खोजी भइरहेको बताए। तिमल्सिनाले भने, ‘जल प्रशस्त भएको ठाउँ हुनुपर्छ। सकभर नदीको प्रवाह नजिक भएमा राम्रो हुनेछ।’

आफ्नै खेतीपाती प्रणाली अपनाइने, ठाउँअनुसारको जडीबुटी खेती गर्ने र सकभर स्थानीय वस्तुहरूको प्रयोग गरी स्वास्थ्य अनुकूल वासस्थान निर्माण गर्ने परिकल्पना समितिको छ।

साथै तपोवनको छातामुनि गुरुकुल, वानप्रस्थ आश्रम, प्राकृतिक चिकित्सा अस्पताल, आयुर्वेद औषधालय, जडिबुटी प्रशोधन, ध्यानकेन्द्र स्थापना गर्ने लक्ष्य छ। अध्यक्ष तिमल्सिनाले गौशाला, पुस्तकालय, प्रवचन कक्ष, यज्ञशाला, अतिथिशाला, पाठशाला, पाकशाला, अजाशाला, अश्वशालालगायतका वैदिक परम्पराको यथोचित सम्भावना भएसम्मको प्रयोग गर्ने स्थल बनाउने योजना रहेको बताए।

उनले भने, ‘तपोवनमा वैदिक गृहस्थीले अपनाउन सकिने सम्पूर्ण आचारसंहिताभित्र रहेर हुने क्रियाकलाप हुनेछन्।’  तपोवनका माध्यमबाट वृद्धवृद्धा समाजका बोझ होइनन् पथप्रदर्शक हुन् भन्ने प्रमाणित गरेर विश्वलाई सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको समितिले जनाएको छ। अध्यक्ष तिमल्सिनाले भने, ‘अवकाशको जीवन घुँडामा मुन्टो राखेर मृत्यु कुर्नु मात्र हो भन्ने सोच हटाउँदै शिक्षक, लेखक, प्रशासक लगायतलाई समेटेर बन्ने हाम्रो आश्रम सानो नेपालको रूपमा रहनेछ।’

यसका लागि करिब एक हजार रोपनी जमिन आवश्यक पर्नेसंस्थाका अध्यक्ष तिमल्सिनाले बताए। साधारणसभामा वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै नयाँ कार्यसमितिसमेत गठन गरिएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना, उपाध्यक्ष रामकृष्ण न्यौपाने र सचिवमा जनार्दन तिमल्सिना छन्। साथै सदस्यहरूमा शेषकान्त घिमिरे, पुण्यमाता खतिवडा, प्रकाशचन्द्र अधिकारी, दीपक न्यौपाने, विना खरेल (बुद्धकुमारी), नेत्रकुमारी घिमिरे र नवराज माझी छन्। समितिले काभ्रेको भुम्लुस्थित सुनकोशी तटमा कौशिक गुरुकुलसमेत सञ्चालन गर्दै आएको छ। कक्षा ८ सम्म पढाइ हुने आश्रममा हाल २० जना बटुक अध्ययनरत छन्।

प्रकाशित: २९ पुष २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =