राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

हिमाल प्रेस २९ पुष २०८० १३:४५
8
SHARES
राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडौँ– निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका उम्मेदवारले गर्न पाउने खर्चको हदम्याद तोकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची-१ ले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचार-प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार-प्रसार कार्यक्रम, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न पाइनेछ।

उम्मेदवारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी पनि तोक्नुपर्नेछ। तोकिएका व्यक्तिबारेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ।

त्यस्तै उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गर्न पनि आयोगले अहिले नै ध्यानाकर्षण गराएको छ।निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने आयोगको भनाइ छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त हुने पदका लागि संविधानअनुसार ३५ दिनअघि निर्वाचन गर्नुपर्ने भएकोले माघ ११ लाई निर्वाचन मिति तोकिएको छ। राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागबन्डा गरेर साझा उम्मेदवार तय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनाव लड्दैछ।

प्रकाशित: २९ पुष २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fourteen =