काठमाडौँ महानगरको सहयोगमा त्रिवि नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी, डंगोलले गरिन् उद्घाटन

हिमाल प्रेस २७ पुष २०८० १०:४०
42
SHARES
काठमाडौँ महानगरको सहयोगमा त्रिवि नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी, डंगोलले गरिन् उद्घाटन

ललितपुर- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छन्। त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभाग ललितपुरमा आयोजित ई-लाइब्रेरी उद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले यस्तो जोड दिएकी हुन्। डंगोलले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृति जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन्।

‘२१औँ शताब्दीको विकसित प्रविधिको सहायताले हामी एकैछिनमा संसारभरका हरेक विषयवस्तु संसारको जुनै ठाउँमा बसेर पनि हेर्न सक्छौँ। नेपालका बारेमा लेखिएका सामग्री, अध्ययन, अनुसन्धानलाई पनि विश्वव्यापीकरण गरिनुपर्छ’, उपप्रमुख डंगोलले भनिन्, ‘त्रिवि नेपालभाषा केन्द्रीय विभागले बनाएको यो ई-लाइब्ररीमा काठमाडौँ महानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा खुसी लागेको छ। अघि बढ्नुस्, साथ दिन हामी छौँ।’

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ई-लाइब्ररी बनाएको हो। कामपाले ई-लाइब्ररी बनाउन अहिले ५० लाख रुपैयाँ उपलब्ध गराएको र यसलाई थप सुधार र अद्यावधिक गर्न महानगरपालिका थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि डंगोलले व्यक्त गरिन्।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करिब चार हजार पुस्तकहरु ई-लाइब्ररीमा अपलोड भइसकेको जानकारी दिए। नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी लेखिएका हरेक पुस्तक, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्री खोजी खोजी अपलोड गर्ने लक्ष्य रहेको बताए।

डा. जोशीले नेपालभाषा क्षेत्र र नेवार समुदायले विभागलाई प्राज्ञिक मञ्चका रूपमा सदुपयोग गर्न पनि आह्वान गरे। ‘विभाग अध्ययन, अनुसन्धानको थलो हो। अध्ययन, अनुसन्धानको क्षेत्रलाई व्यापक र सहज पनि बनाउन हामीले ई-लाइब्ररी ल्यायौँ। नेपालभाषा क्षेत्र र नेवार समुदायले ईलाइब्ररीको साथमा यो विभागलाई प्राज्ञिक थलोका रूपमा सक्दो सदुपयोग गर्नुहोस्’, डा. जोशीले भने।

कार्यक्रममा उपप्राध्यापक डा. वज्रमुनि वज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मणसिंह कुवँर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी संगठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतकले आआफ्नो विचार राखेका थिए। सोही कार्यक्रममा पुष्पदेवी छात्रवृत्ति, खैगुलि छात्रवृत्ति, योगवीर सिंह विद्वत्वृत्ति लगायतका छात्रवृत्ति प्रदान गरिएको थियो।

साथमा नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अनुसन्धा लगायतलाई सत्यहीरा पुरस्कार, पियूष पदक, श्रेष्ठ पदक लगायतका पुरस्कार पनि प्रदान गरिएको थियो। कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपालभाषा केन्द्रीय विभागका निवर्तमान प्रमुख प्रा. डा. ओमकारेश्वर श्रेष्ठ, पूर्वप्रमुख प्रा. प्रेमशान्ति तुलाधर, पूर्व प्रमुख सहप्रा. सिर्जना प्रधानलगायतको उपस्थिति थियो।

प्रकाशित: २७ पुष २०८० १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =