अर्थमन्त्रीले दिए विभिन्न देशका व्यवसायीलाई लगानी सम्मेलनको निम्तो

हिमाल प्रेस २५ पुष २०८० १७:४२
14
SHARES
अर्थमन्त्रीले दिए विभिन्न देशका व्यवसायीलाई लगानी सम्मेलनको निम्तो

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले भारतलगायत विभिन्न देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन्।

भारतको गुजरातमा आयोजित ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट, २०२४’ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री र लगानीकर्तालाई सम्बोधन गर्दै मन्त्री महतले निम्तो दिएका हुन्।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने,‘नेपालमा वैशाख १६ र १७ गते लगानी सम्मेलन हुँदैछ। यो कार्यक्रमबाट म भारतसँगै अन्य देशका लगानीकर्तालाई निम्तो गर्छु। तपाईंहरूको इनोभेटिभ बिजनेस आइडिया र लगानीको निर्णयले नेपालको विकासका लागि नयाँ माइलस्टोन खोल्नेछ भन्ने आशा गर्दछु।’

महतले नेपालमा ऊर्जा, पर्यटन, कृषि व्यवसाय र आईटीमा लगानीको ठूलो अवसर रहेको बताए। उनले स्वास्थ्य, शिक्षा, उत्पादन, निर्माण र यातायात, खानी, बैंकिङ र वित्तीय सेवाजस्ता लगानीका अन्य सम्भावित क्षेत्रहरू पनि रहेको जानकारी गराए।

मन्त्री महतले भाइब्रेन्ट गुजरात विकास मोडल वित्तीय स्रोत र प्राविधिक ज्ञानको व्यवस्थापन गर्न नेपाललगायत धेरै देशका लागि प्रेरणाको स्रोत भएकोसमेत बताएका छन्।

अर्थमन्त्री महतले भने, ‘सन् २०१४ मा नेपालको संसदमा मोदीजीले ‘हिट’ मा जोड दिनुभएको थियो, त्यो हो- हाइवे, इन्फर्मेसन र ट्रान्समिसन लाइन। हामी यी सबै क्षेत्रमा कनेक्टिभिटी सुधार गर्न, बजार सम्बन्धलाई बलियो बनाउन र लेनदेन लागत घटाउन काम गरिरहेका छौँ।’

अर्थमन्त्रीले महतले नेपाल र भारतबीच हालै भएको विद्युत् खरिद सम्झौताले नेपालको जलविद्युतमा लगानीको ठूलो अवसर खोल्ने पनि बताए। उनले भने, ‘यसले नेपालमा मात्र नभइ भारतमा पनि हरित ऊर्जा संक्रमण लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।’

प्रकाशित: २५ पुष २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =