सरकारविरुद्ध आक्रामक बन्दै एमाले

हिमाल प्रेस २४ पुष २०८० २१:२७
22
SHARES
सरकारविरुद्ध आक्रामक बन्दै एमाले एमाले केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको जनसंगठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेल।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधीनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको जनसंगठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीवनाले सीमा नाघेका कारण सही ठाउमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताए। संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरकमाथि सरकारको ज्यादतीले सीमा नाघेको तथ्य प्रस्तुत गर्दै आन्दोलनको तयारीमा पार्टी रहेको जानकारी दिएका थिए।

‘सरकार हरेक क्षेत्रमा असफल भयो। मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ। अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुट्नुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ,’ बैठकमा महासचिव पोखरेलले भने, ‘निकट भविष्यमा राजधानी केन्द्रित भएर केही गतिविधि गर्नुपर्छ कि भन्ने ढंगले हामीले सोचिरहेका छौँ। यो कामको तयारीमा सब जनसंगठन लाग्नोस्।’ महासचिव पोखरेलले राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढंगले प्रतिकार हुन नसकेको भन्दै अब त्यस दिशातर्फ पनि अघि बढ्नुपर्ने बताए।

‘सरकार र स्थानीय निकायमा रहेका शासकहरूले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित होइन। अब जनताको पक्षमा दृढतापूर्वक उभ्याउनुपर्छ। त्यसका लागि जनसंगठनहरूले आफ्ना गतिविधिलाई अलिक आक्रामक बनाएर जानुपर्छ, महासचिव पोखरेलले भने, ‘अब इफ बट नभनीकन सरकारको ज्यादतीबारे आक्रामक बन्नुपर्छ। जनताका सरोकारका विषयमा सम्झौता नगरी संगठित रूपमा लाग्नुपर्छ। जनताले मन नपराउने कुरा अब रोक्ने गरी हामी अघि जानुपर्छ। यो कामको तयारी गर्नाेस्।’

महासचिव पोखरेलले नेपालको आन्तरिक मामिलामा सरकारले खेलवाड गरेको भन्दै यस बिषयमा जनतालाई जानकारी गराउनुपर्ने धारणा पनि राखेका छन्। ‘सीधै २० करोड लगानी गर्न सक्ने प्रावधान आपत्तिजनक छ। यो आन्तरिक मामिलामा गम्भीर विचलन हो,’ महासचिव पोखरेलले भने, ‘वैदेशिक सहायता बजेटरी प्रणालीमा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो तर यो सरकारले सीधै २० करोड खर्च गर्न दिने सम्झौता गरेर गम्भीर राष्ट्रघात गरेको छ।’

उनले ललितपुरको ग्वार्काे र सर्लाहीको बरथहवा घटनाले सरकार जनतामाथि निर्मम रुपमा दमनमा उत्रिएको प्रमाण दिएको भन्दै यस प्रकारका ज्यादती अब सह्य नहुने प्रस्ट पारे। सर्लाहीमा सत्ता गठबन्धनले नै अराजकता मच्चाउने काम गरेको र सरकारले निर्दाेष नागरिकमाथि गोली चलाएर हत्या गरेको भन्दै महासचिव पोखरेलले यी दुवै घटनामा प्रतिवाद जरुरी रहेको बताए।

‘स्थानीय तहको अधिकार कटौती गर्ने कुरामा संगठित रुपमा प्रहार भइरहेको छ। त्यही योजनाअनुसार सत्तारुढ गठबन्धनको योजनामा बरथहवामा अराजकता मच्चाइयो। त्यही बहानामा सरकारले निर्दाेषको ज्यान लियो,’ महासचिव पोखरेलले भने, ‘पछिल्लो समय एमालेले जितेको पालिकामा पाँचदलीय गठबन्धन अराजकता मच्चाउने काममा लागेको छ। यो कुरा निकै गम्भीर छ।’

बैठकमा महासचिव पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राले अतिवाद पराजित गरेको निष्कर्ष सुनाएका थिए। ‘संकल्प यात्राका माध्यमबाट अतिवादविरुद्ध जनमत प्राप्त भयो। संकल्प यात्रा भाँड्न कोशीमा जुन प्रयास भयो, त्यसविरुद्ध जुन ढंगल जनता उपस्थिति भएर जवाफ दिए, त्यसले अतिवादलाई परास्त गरेको छ,’ महासचिव पोखरेलले भने।

यस्तै यात्राको क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति देखिएको नागरिकको क्रेज ऐतिहासिक घटनाका रुपमा रहेको पोखरेलको भनाइ छ। ‘पार्टी अध्यक्षप्रतिको विश्वास अपार रहेको प्रस्ट तस्बिर आएको छ। यो ढंगको विश्वास अरू कोही प्रति छैन। यस हिसाबले नेकपा एमाले र यसको नेतृत्वमाथि नै जनताको विश्वास छ भन्ने प्रस्ट भयो,’ महासचिव पोखरेलले भने।

प्रकाशित: २४ पुष २०८० २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =