रकम अभाव भएपछि रोकियो खानीखोला अस्पताल निर्माण

हिमाल प्रेस २४ पुष २०८० १०:५७
8
SHARES
रकम अभाव भएपछि रोकियो खानीखोला अस्पताल निर्माण

काभ्रे- काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुंगामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ।

विसं २०७८ असार २९ गते एक वर्षमा सक्नेगरी भवन बनाउन सम्झौता गरिएको थियो। अस्पताल निर्माणपछि नजिककै उपचार गर्न पाउने आशामा बसेका स्थानीय उपचारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता रहँदै आएको छ।

‘गुणस्तरीय स्वास्थ्य सेवा नपाएकै कारण स्थानीय नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ’, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले भने। उनका अनुसार कच्ची सडक वर्षायाम वा अन्य कारण सडक बन्द हुँदा ‘एम्बुलेन्स’ जान सक्दैन र नजिकै अस्पताल छैन।

उनले भने, ‘बिरामी हुँदा मर्नुको विकल्प छैन, यहाँका नागरिकले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नुपरेका समस्यामा संघीय सरकार र प्रदेश सरकारले पर्याप्त चासो दिएको छैन।’

निर्माणाधीन अवस्थामा रहेको अस्पताल दुईतला बनेपछि अवरुद्ध भएको हो। उक्त अस्पताल निर्माण बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अध्यक्ष थिङको भनाइ छ। चालु वर्षमा प्रदेश सरकारमार्फत विनियोजित रु तीन करोड बजेट अझै निर्माण व्यवसायीलाई भुक्तानी नहुँदा निर्माणको कामलाई निरन्तरता दिन नसकिएको हो।

उनका अनुसार चालु वर्षमा निर्माण व्यवसायीको रकम भुक्तानी गरी थप कार्यका लागि बजेट विनियोजन हुँदामात्रै अस्पताल बन्ने कुराको सुनिश्चित हुन्छ।

तत्कालीन नेकपा नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण प्राथमिकतामा राखेसँगै तालढुंगा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्नेगरी १० शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो।

तुन्दी-जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभूत अस्पताल निर्माणका लागि १२ करोड ५४ लाखमा सम्झौता गरेको थियो। निर्माण व्यवसायीलाई कार्यसम्पन्न गरेका आधारमा रु दुई करोड ५० लाख भुक्तानी गरिएको जनाएको छ।

पहाडी क्षेत्र भएका कारण खानीखोलाबाट सदरमुकाम आउने कच्ची सडक सामान्य वर्षामा पनि अवरोध हुने गर्दछ। खानीखोला मकवानपुर जिल्लाबाट नजिकै भए पनि वाग्मती खोलामा विसं २०७३ मा ठेक्का लगाइएको पुल निर्माण नहुँदा आवतजावतमा निकै कठिनाइ छ।

उक्त गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागू नहुँदा छिमेकी महाभारत गाउँपालिकामा ल्याई सुत्केरी हुन नसकेका महिलाको उद्धार गर्नुपर्ने बाध्यता रहँदै आएको छ।

प्रकाशित: २४ पुष २०८० १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =