वन मन्त्रालयमै अनसन बस्ने सांसद दीपक खड्काको घोषणा

हिमाल प्रेस १७ पुष २०८० १७:०८
112
SHARES
वन मन्त्रालयमै अनसन बस्ने सांसद दीपक खड्काको घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमै अनसन बस्ने घोषणा गरेका छन्। आफ्नो लगानीमा निर्माण हुन लागेको एक रिसोर्टलाई अनुमतिका लागि सरकारले चार वर्षदेखि झुलाएर राखेको भन्दै वनमन्त्रीसमक्ष आक्रोश पोख्न पुगेका खड्काले अनसन बस्ने घोषणा गरेका हुन्।

सांसद खड्काले वनमन्त्री वीरेन्द्र महतोसमक्ष आक्रोश पोखेपछि त्यहीँ मन्त्री र सचिवबीच पनि विवाद भएको थियो। ‘चार वर्ष भएछ फाइल थन्केर बसेको। सुरुमा कर्मचारी नभएको कारण फाइल अघि बढेन भनियो। तर, अघि बढिसकेपछि चाहिँ ईआईए पास नभई निर्माण थालिएछ भनेर ५ लाख रुपैयाँ पेनाल्टी तिराउनु भयो,’ खड्काले आक्रोशित हुँदै भने, ‘पेनाल्टी तिरेर सुनुवाइ भइसकेपछि फेरि निकुञ्जको कार्यविधिअनुसार भएन भन्ने? साढे २ तलाभन्दा बनाउन पाइँदैन रे।’

उनले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्रभित्र बन्न लागेको रिसोर्टमा तीन अर्ब हाराहारी लगानी भइरहेको बताए। ‘सबै निकायबाट स्वीकृति भयो। कार्यविधि भएन रे। आज ४ महिना भयो पेनाल्टी तिरेको,’ उनले भने, ‘अहिले भन्सारबाट त्यही ईआईए प्रतिवेदन नभएकाले सामान निकाल्न पाएको छैन।’

उनले ऐन कानुन संशोधन गर्नुपर्छ भने गरिनुपर्ने भन्दै आफू सांसद पनि भएकाले सहजीकरण गर्न तयार भएको बताए।

उनले काम नहुने भए सबै फाइल च्यात्न तयार रहेको भन्दै नभएको काम नभएमा अनसन बसेर सरकारलाई दबाब दिने बताए। उनले आफ्नै पार्टी सरकारमा हुँदा आफूले सरकारका विषयमा आलोचना गर्नु परेको भन्दै आक्रोश पोखे। ‘मेरो पार्टी सरकारमा छ तर मैले सरकारका विषयमा मैले यस्तो भन्नुपर्ने?’ उनले भने।

‘म अनसन यहीँ बस्छु। जतिदिनसम्म यो काम हुँदैन यहीँ बस्छु,’ उनले भने, ‘मैले उहाँहरूलाई दुईवटा कुरा भनेको छु- मेरो फाइल फिर्ता दिनुस् च्यात्छु र आगो लगाउँछु। हैन भने चिठी दिनुस् जान्छु। हैन भने म यहीँ अनसन बस्छु।’

यो पनि

वनमन्त्रीले भने : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु

प्रकाशित: १७ पुष २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =