वनमन्त्रीले भने : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु

हिमाल प्रेस १७ पुष २०८० १६:४७
90
SHARES
वनमन्त्रीले भने : कर्मचारीले टेर्दैनन्, राजीनामा दिनेबारे सोचिरहेको छु

काठमाडौँ- वनमन्त्री वीरेन्द्र कुमार महतोले कर्मचारीले टेर्दै नटेर्ने गुनासो गरेका छन्। व्यवसायीसमेत रहेका कांग्रेस सांसद दीपक खड्काले आफ्नो रिसोर्टसम्बन्धी फाइल चार वर्षदेखि वन मन्त्रालयले किन अड्काएर राखेको भनेर बुझ्न जाँदा उल्टै मन्त्री महतोले गुनासो गरेका हुन्।

मन्त्रीकै कुर्सीमा बसेर मन्त्री महतोले भने, ‘मैले एक्सन लिने वा राजीनामा दिनेबारे पनि सोचिरहेको छु। कर्मचारीले टेर्दैन भने म पिट्न जानु ? उसले साइन गरेपछि मैले साइन गर्ने हो।’

गुनासो सुनाउन गएका खड्कालाई नै उल्टै गुनासो सुनाएका मन्त्रीले ६ महिनादेखि मन्त्रालयमा यस्तो समस्या धेरै भएको बताए।
खड्काको गुनासोको समर्थन गर्दै उनले भने, ‘यो मेरो लागि नयाँ प्रक्रिया होइन। ६ महिनादेखि यस्तै भइरहेको छ यो मन्त्रालयमा। किन भन्दा जसले लगानी गरेको हुन्छ, अन्तिम चरणमा फाइल रोकिएपछि पीडा हुन्छ नि। उहाँजस्तो मान्छेलाई यस्तो छ भने अरुलाई कति पीडा हुन्छ भन्ने बुझ्न जरुरी छ।’

मन्त्री महतोले मन्त्रालयका सचिवको नियत खराब हुँदा धेरैलाई समस्या भएको बताए। सचिवहरूले दबाब दिएपछिमात्रै हस्ताक्षर गरिदिने प्रवृत्ति बढिरहेको उनको आरोप छ।

‘सचिवजी यहाँ हुनुहुन्छ, मान्यज्यू आएर प्रेसर गर्नुभयो अब उहाँले साइन गर्नुहुन्छ। तर सर्वसाधारण जनता आएको भए उहाँको कुरा नसुनिकन तपाईं भोलि आउनुस् भनेर चार वर्ष लाउँछ। कस्तो कर्मचारीतन्त्र छ? मन्त्रीले रुलिङ गरेको कुरा सचिवले मान्दैन,’ उनले भने, ‘सचिवले रुलिङ गरेको कुरा विभागले मान्दैन। आज यति कुरा भयो अब भोलि हुन्छ भन्नुहुन्छ। म भन्छु भोलि हुन्छ भने अहिले किन हुँदैन। किन अड्काएको?’

प्रकाशित: १७ पुष २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =