शैक्षिक संरचनामा रूपान्तरण जरुरी : प्रधानमन्त्री

हिमाल प्रेस १७ पुष २०८० १२:१२
2
SHARE
शैक्षिक संरचनामा रूपान्तरण जरुरी : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन्।

मंगलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस)मा बोल्दै प्रधानमन्त्रीले नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको बताए। उनले शैक्षिक बहसबाट विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिने विश्ववास व्यक्त गरे।

शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताए।

उनले भने, ‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ। यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ। यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं।’

‘‘पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्ववजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको तपाई–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ’’ प्रधानमन्त्रीले भने।

रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्रीले बताए।

प्रकाशित: १७ पुष २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =