शेखर कोइराला भन्छन् : सरकार परिवर्तन अपरिहार्य भैसक्यो

हिमाल प्रेस १२ पुष २०८० २१:०१
44
SHARES
शेखर कोइराला भन्छन् : सरकार परिवर्तन अपरिहार्य भैसक्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए।

‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ पार्टीको केन्द्रीय समिति बैठक छाडेर पाँचथर पुगेका कोइरालाले भने, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूला–ठूला भ्रष्टाचार गरेको उनको आरोप छ।

उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए। देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोशिस भइरहेको कोइरालाको भनाइ थियो। ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ। राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ।’

देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैंकहरू पनि मिटरव्याजी भएको बताए। उद्योगी र बैंकर्ष एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे। ‘नेपालमा उद्योगी र व्यापारीले नै बैंक सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठिक हैन।’

प्रकाशित: १२ पुष २०८० २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =