राष्ट्रियसभा निर्वाचनबारे एमाले : पार्टीभित्र सन्नाटा, बाहिर अनेक प्रस्ताव

किरण पौडेल ९ पुष २०८० २०:०६
48
SHARES
राष्ट्रियसभा निर्वाचनबारे एमाले : पार्टीभित्र सन्नाटा, बाहिर अनेक प्रस्ताव

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनको तयारीमा सत्तारुढ पार्टीहरू जुटिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमाले मौन छ। आउँदो माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि एमालेमा हालसम्म तयारी छैन।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले छिटपुट निकटस्थसँग छलफल गरे पनि निर्वाचनबारे खुलेर छलफल गरेका छैनन्। राष्ट्रियसभामा १९ सिटमा निर्वाचन हुँदैछ। जसमा एमालेका सबैभन्दा बढी सांसद ८ सांसदको पदावधि सकिँदैछ। मन्त्रिपरिषद्बाट सिफारिस एक सांसदसहित ९ सिट एमालेको रिक्त हुँदैछ।

हालसम्म राष्ट्रियसभा निर्वाचनलाई लिएर एमालेमा कुनै छलफल/संवाद भएको छैन। एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारे हालसम्म जानकारी नपाएको एमाले केन्द्रीय सदस्य झपट रावल बताउँछन्। ‘हालसम्म मैले कोको उम्मेदवार बनाउने, कोको आकांक्षी छन्, सुनेको छैन,’ उनी भन्छन्।

अहिले सत्ता गठबन्धनमा रहेका दलको भन्दा एमालेको मतभार कमजोर छ। एमालेले चुनाव जित्न गठबन्धनका शीर्ष दलको मत पाउनुपर्ने हुन्छ। गठबन्धन र मोर्चा बनाएका सत्तारुढ दल एक भएर चुनाव लड्ने तयारी गरिरहेका छन्। यसै कारण एमाले राष्ट्रियसभा निर्वाचनबारे अनभिज्ञ छ।

‘हाम्रो मतभार कम छ। अध्यक्ष (केपी शर्मा ओली) तयारीमै हुनुहुन्छ। खबर बाहिर नल्याइएको मात्र हो,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्, ‘माघको ३/४ गतेसम्ममा सबै कुरा बाहिर आइहाल्छ।’

एमालेले निर्वाचनका लागि मिलेर जाने प्रस्ताव राखेको छ। प्रतिपक्षमा रहेका दलसँग प्रस्ताव राखेको तर प्रतिक्रिया नआएको एमाले सचेतक महेश बर्तौला बताउँछन्। उनले भने, ‘प्रतिपक्षी भएपछि स्वाभाविक हो। सबैसँग सहयोग लिएर जाने भन्ने नै हुन्छ। अहिले त्यही भइरहेछ।’

अहिले एमालेमा उम्मेदवारमा सन्नाटा छाउनुको कारण चाहिँ चुनावमा मतभार कमजोर हुनु हो। यदाकदाबाहेक एमालेमा उम्मेदवारको खडेरी छ। ‘मतभार कमजोर हुँदा अर्कोचोटिलाई सुनिश्चित गर्न मात्र नेताहरूले नाम दिन्छन्,’ एमालेका एक पदाधिकारीले भने, ‘अहिले ठप्प छ।’ ती पदाधिकारीका अनुसार ओलीसँग केही नाम आएका पनि छन् तर गोप्य छन्।

गठबन्धन फुटाउने एमाले प्रयत्न

चुनावी अंक गणितमा कमजोर भएसँगै एमाले गठबन्धन फुटाउने प्रयत्नमा छ। गठबन्धन एक नभएमा चुनाव जितिने एमालेको विश्वास छ। तर गठबन्धन फुट्नेमा एमाले ढुक्क छैन।

‘यो गठबन्धन देशभित्रबाट बनेको छैन। चार किल्ला बाहिरबाटै बनेको छ,’ सचेतक बर्तौला भन्छन्, ‘कति लामो जान्छ सत्तारुढ दललाई पनि थाहा छैन।’ बर्तौलाकै भनाइ पत्याउने हो भने एमालेले धेरैतिर चुनावको प्रस्ताव राखेको छ। कमजोर अंकगणित भएकाले अन्य दलसँग प्रस्ताव गर्नु एमालेको बाध्यता भएको एमाले नेताहरू नै सुनाउँछन्।

एमालेका बागमतीबाट दुई, गण्डकीबाट दुई, लुम्बिनीबाट एक, कर्णालीबाट दुई र सुदूरपश्चिम प्रदेशबाट एक जनाको पदावधि यसपटक सकिँदैछ। योसँगै राष्ट्रपतिबाट मनोनीत एक सांसद (विमला राई पौडेल) को पनि पदावधि सकिँदैछ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदैछ। सांसद मात्र नभई एमालेलाई सभा अध्यक्ष गुमाउनु पर्नेे पीडा छ।

कांग्रेस मनाउने प्रयास

एमाले नेताहरूका अनुसार अहिले कांग्रेससँग मिल्न सके निर्वाचन जितिन्छ। गठबन्धन भत्काउन कांग्रेसलाई आकर्षक प्रस्ताव दिने प्रयत्न एमालेले गरेको छ।

एमालेले कांग्रेसको संस्थापन इतरपक्षलाई मनाउने प्रयास गरिरहेको छ। ‘गगन (गगन थापा) जी एक्लै चुनाव लड्ने भन्दै हुनुहुन्छ। त्यो वातावरण अहिलेको निर्वाचनमा मिलाउन सके गज्जब हुन्थ्यो भन्ने लागेको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘गगनजीको प्रस्तावले माओवादीभित्र पनि सन्नाटा छाएको छ।’

यता एमालेले भने कांग्रेस र एमाले मिलेर राष्ट्रियसभा निर्वाचनमा लड्नुपर्ने बताउँदै आएको छ। ओलीले यो प्रस्ताव अघि बढाउँदै आएका छन्। एमालेका एक पदाधिकारीका अनुसार यो प्रस्ताव कांग्रेसका दोस्रो स्तरका नेतामार्फत सभापति शेरबहादुर देउवासमक्ष पनि पुर्‍याइएको छ। ‘हामीले ८ सिट लिने बाँकी सबै कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ,’ एमालेका ती पदाधिकारीले भने। यसबारे कांग्रेस नेताहरू मौन छन्।

कांग्रेसका प्रमुख सचेतक एवं सभापति देउवा निकट मानिने नेता रमेश लेखक भने यो प्रस्तावबारे जानकारी नभएको सुनाउँछन्। उनी गठबन्धनमा सिट बाँडफाँटबारे पर्याप्त छलफल नभएको स्वीकार्छन्।

एमालेको प्रस्ताव आकर्षक भए पनि गठबन्धन फुटाइहाल्न नमिल्ने कांग्रेस नेताहरूको सुझाव छ। यसअघि पनि एमालेले कांग्रेससँग गठबन्धनको प्रस्ताव गरेको थियो। अध्यक्ष ओली सरकारले काम नगरेको भन्दै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन्। ‘सरकारले डेलिभरी दिन सकेन, विकल्प दिनुपर्छ,’ ओली भन्दै आएका छन्।

माओवादीलाई वामपन्थी गठबन्धनको प्रस्ताव

कांग्रेसलाई मात्र होइन एमालेले माओवादीलाई गठबन्धनका लागि प्रस्ताव राखेको छ। यसअघि लुम्बिनीस्तरीय राष्ट्रियसभा निर्वाचनमा पनि एमाले–माओवादी गठबन्धन बनेको थियो।

अहिले पनि माओवादी नेताहरू कांग्रेसबाट सहयोग नपाएको बताउँदै आएका छन्। माओवादीको पदाधिकारी बैठकमा समेत कांग्रेसले वर्तमान सरकारको जस लिन खोजेको तर अपजस बोक्न नखोजेको ब्रिफिङ गरिएको थियो।

बैठकमा कांग्रेसका नेताहरू सरकारविरुद्ध खनिएको रिपोर्टिङ भएको थियो। यसको फाइदा लिने दाउमा एमाले छ। राष्ट्रियसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गर्न सके केही सिट लिन सकिने एमालेको बुझाइ छ।

यता माओवादी केन्द्रले पनि यसलाई सकारात्मक रूपमा लिएको छ। ‘उहाँहरू (एमाले)बाट प्रस्ताव आएको हो,’ माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्, ‘हामीले जबाफ दिएका छैनौँ। अनौपचारिकरूपमा प्रस्ताव आएको हो।’ पौडेल एमाले अल्पमतमा रहेकाले प्रस्ताव आउनु स्वाभाविक ठान्छन्। उनले प्रस्तावबारे पार्टीमा छलफल गरेर जबाफ दिने तयारी भएको बताए।

एमालेले माओवादीलाई वामपन्थी एक हुनुपर्ने प्रस्ताव राखेको हो। माओवादीसँग मिल्न सके एकीकृत समाजवादीलगायतको मत पनि लिन सकिने एमालेको बुझाइ छ।

जसपा तान्ने, राप्रपा जोगाउने

ओलीले निर्वाचनकै लागि राप्रपासँग पनि छलफल गरिरहेका छन्। उनी राप्रपालाई आफूतिर तान्न चाहन्छन्। सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा)लाई पनि ओली तान्ने प्रयत्नमा छन्।

जसपाको प्रभाव कम भए पनि गठबन्धन फुटाउने दाउमा ओली छन्। एमालेले जसपालाई पनि प्रस्ताव गरेको बताएको छ। एमालेका दोस्रो स्तरका नेताले गठबन्धन गरेर जान जसपालाई प्रस्ताव गरिएको जनाएका छन्। यता जसपाले भने एमालेबाट प्रस्ताव नआएको बताएको छ।

‘हामी गठबन्धनबाट बाहिरिदैनौँ। हामी गठबन्धनका हौँ। यही रहन्छौ,’ जसपा प्रवक्ता मनिष सुमन भन्छन्। उनले तत्काल गठबन्धनबाट छुट्ने मानसिकतामा नरहेको बताए। राप्रपा भने एमालेसँग संवादमै छ। राप्रपाले हालसम्म गठबन्धनबारे नसोचेको बताएको छ। राप्रपालाई सत्ता गठबन्धनतर्फ जान नदिने एमालेको प्रयत्न छ।

प्रकाशित: ९ पुष २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =