नारायणगढ–मुग्लिन सडक १२–४ बजेसम्म बन्द हुने

हिमाल प्रेस ८ पुष २०८० १५:०७
नारायणगढ–मुग्लिन सडक १२–४ बजेसम्म बन्द हुने तस्बिरः रासस

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो।

पुल बनाउन पहाड काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ। यसअघि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने गरिएको थियो।

सोमबारदेखि मध्याह्न १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ। भीर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी ई. कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार चितवन र तनहँुतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिएको छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिएका छन्। काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिएको आयोजना कार्यालयले जनाएको छ।

यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिएको छ।

आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द पहाड काटिने छ। गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्न थालिएको हो।

राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो।

प्रकाशित: ८ पुष २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =