अस्तित्वको भोगाइ ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

हिमाल प्रेस ८ पुष २०८० ११:४४
36
SHARES
अस्तित्वको भोगाइ ‘चिहानमाथि महल बनाइरहेको मान्छे’

काठमाडौँ- कवि घनश्याम अस्तित्वको कवितासङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ शनिबार थापागाउँस्थित कुञ्ज थिएटरमा विमोचन भएको छ। कार्यक्रममा कवि अस्तित्वसहित श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले संयुक्त रुपमा विमोचन गरेका हुन्।

प्युठानमा जन्मिएका अस्तित्व हाल दाङमा शिक्षण पेशामा आवद्ध छन्। साठीको दशकको अन्त्यतिर कविता लेख्न थालेका अस्तित्व कथा, निबन्ध पनि लेख्छन्।

तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ शीर्षकका कविता छन्। कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गति, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटिएको छ।

पुस्तकबारे समीक्षा गर्दै कवि श्यामल अधिकारीले स्थानीय भाषा र परिवेशअनुरुप फरक शैली  शब्दचित्रमा उतारेको उल्लेख गरे। मानिसलाई आश्रय  दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको कवि अधिकारीले बताए। ‘कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतीकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ।’, उनले भने।

कवि राधिका कल्पितले कृतिले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र संघर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गरिन्। उनले सङग्रह कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो रहेको बताईन्। कविताले तत्कालीन द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको संघर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितको बुझाई थियो।

यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गरे। कवितामा कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गरे।

टिप्पणीकर्ताहरुलाई धन्यवाद दिँदै लेखक घनश्याम अस्तित्वले विगतमा आफूले भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गरे। पुस्तक बिएन पुस्तक संसारले प्रकाशन गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =